काठमाडौं, पुस २७ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको नेतृत्व र मार्गदर्शनमा सुरु भएको नेपाल एकीकरणले मुलुकको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेको बताउनु भएको छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले एकीकरणकै कारण नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये परेको उल्लेख गर्नुभएको छ ।
एकीकरणले तयार गरेको आधारभूमिमा उभिएर नै वर्तमान लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भइएको उहाँले उल्लेख गर्नुभएको छ ।
‘पृथ्वीनारायण शाहको नेतृत्व र मार्गदर्शनमा सुरु भएको नेपाल एकीकरणले हाम्रो राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गर्यो, त्यसैको परिणामस्वरूप हाम्रो देश विश्वका पुराना स्वतन्त्र राष्ट्रहरूमध्येमा पर्दछ र हामी नेपाली कहिल्यै कसैको अधीनमा नपरेको राष्ट्रका नागरिक हुनुमा गौरवान्वित हुन सकेका छौं, एकीकरणले तयार गरेको आधारभूमिमा उभिएर नै वर्तमान लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न हामी सफल भएका छौं,’पूर्वराष्ट्रपति भण्डारीले लेख्नुभएको छ ।
उहाँले आजको दिनलाई एकीकृत र अखण्ड नेपालको निर्माण तथा यसको स्वाधीनता रक्षाको लागि जीवन उत्सर्ग गर्ने वीर पूर्खाहरूप्रति सम्मान प्रकट गर्दै मुलुकको अखण्डतालाई थप सुदृढ बनाउन प्रण गर्ने दिनको रूपमा लिनुपर्ने उहाँले उल्लेख गर्नुभएको छ ।
पृथ्वीनारायण शाहको नेतृत्वमा नेपालको भौगोलिक एकीकरणको जग बसेको पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गर्नुभएको छ । त्यस अभियानलाई अझ विस्तृत र व्यापक बनाई नेपाली जनताको भावनात्मक एकीकरण मार्फत हाम्रा मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण गरी सुदृढ राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि समेत त्यसबाट तयार भएको उहाँको ठहर छ ।
‘तसर्थ, विविध भूगोल, जातजाति, भाषाभाषी, सभ्यता तथा संस्कृति अँगालेका नेपालीलाई ुयो देश हाम्रो होस यो देशको उन्नति प्रगतिमा समर्पित हुनु हामी सबैको दायित्व हो,’ भन्ने जिम्मेवारीबोधका साथै सबै नेपालीको सामूहिक प्रयासबाट मात्र यो सम्भव छ भन्ने भावनाको विकास भई सोही अनुरूपको व्यवहार गर्नु नै हाम्रो सन्दर्भमा राष्ट्रिय एकता हो, राष्ट्रिय एकता दिवसको यस अवसरमा यस विषयलाई हामी सबैले आत्मसात गर्नु पर्दछु( पूर्व राष्ट्रपति भण्डारीले लेख्नुभएको छ ।
वीर पुर्खाहरूको बलिदानबाट निर्माण भएको यस मुलुकलाई स्वाधीन, आत्मनिर्भर र सुदृढ राष्ट्रिय अर्थतन्त्र भएको राष्ट्र निर्माण गर्ने अभिभारा हाम्रो भएको उहाँले उल्लेख गर्नुभएको छ । यस युगीन दायित्वलाई व्यवहारमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई निरन्तर बलियो बनाई जनताको सुख र समृद्धि हासिल गर्न आजका दिनले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास पूर्व राष्ट्रपति भण्डारीले व्यक्त गर्नुभएको छ ।
नेपाल राष्ट्र निर्माणको अभियानमा आफ्नो जीवन समर्पण गर्ने हाम्रा महान पूर्वजहरूप्रति उहाँले हार्दिक सम्मान एवं श्रद्धा प्रकट गर्नुभएको छ ।शाहको ३०२औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दै पूर्व राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्