जनता टाइम्स

२७ पुष २०८०, शुक्रबार १३:१०

महराको नाम लिँदै सन्दीपको पक्षमा खुले ज्ञानेन्द्र शाही, अदालतमाथि प्रश्नै प्रश्न


काठमाडौं, पुस २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं संघीय सांसद ज्ञानेन्द्र शाही बलात्कार अभियोगमा सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा खुल्नुभएको छ ।

सांसद शाहीले क्रिकेटर लामिछानेमाथिको मुद्दामा अदालतले गरेको फैसलाप्रति असन्तुष्टि समेत जनाउनु भएको छ । शाहीले सत्तारुढ नेकपा माओवादीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दासँग दाँज्दै लामिछानेमाथि अन्याय भएको बताउनु भएको हो ।

शाहीले कानून सबैलाई बराबर हुनुपर्ने भन्दै सन्दीपलाई अदालतले अन्याय गरेको तर्क गर्नुभएको छ । जिल्ला अदालत काठमाडौंले क्रिेटर सन्दीपलाई गौसाला २६ माथि बलात्कार गरेको अभियोगमा ८ बर्ष जेल सजाय र ५ लाख क्षतीपूर्तिको निर्णय सुनाएको छ । सोही बिषयमा सांसद शाहीले अदालतले अन्याय गरेको भन्दै दोषी ठहर लामिछानेको पक्ष लिनुभएको हो ।

फेसबुकमा स्टाटस लेख्दै शाहीले सम्मानित अदालतलाई सम्मान गर्ने तर एउटै प्रकृतिको मुद्दामा किन फरक फैसला भन्दै प्रश्न गर्नुभएको छ ।
‘सम्मानित अदालतललाई म सम्मान गर्छु । तर पुर्वसभामुख कृष्णबहादुर महरा र अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउने खेलाडी सन्दीप लामिछानेको मुद्दामा फरक के थियो त ?’ शाहीले प्रश्न सोध्नुभएको छ ।

‘महरा पीडितको घरमै गएका थिए भने सन्दीप होटलमा । महराले रक्सी पिएर पीडितलाई मरणासन्न हुनेगरी पिटेका पनि थिए तर सन्दीपले त्यसो गरेका थिएनन,’ शाहीले भन्नुभएको छ, ‘त्यसो भए महरालाई चोख्याएको न्यायलयले सन्दीपलाई चैं किन ८ वर्ष जेल सजाय तोकेको ? सन्दीपले ८ वर्ष जेल बस्नुपर्छ भने महराले चैं किन बस्नुपरेन ? न्याय सबैलाई बराबर हुनुपर्ने होइन र ?’