जनता टाइम्स

२७ पुष २०८०, शुक्रबार १३:३६

नेपाली हुनुमा गर्व गर्न र नेपालको श्रीवृद्धिमा योगदान गर्न सकौं : बिष्णु पौडेल


काठमाडौं, पुस २७ । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले सबै नेपालीले नेपाली हुनुमा गर्व गर्न र नेपालको श्रीवृद्धिमा योगदान गर्न अपिल गर्नुभएको छ ।

पुथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका उपाध्यक्ष पौडेलले देशको समृद्धिमा काम गर्न सवैलाई अपिल गर्नुभएको हो ।

उपाध्यक्ष पौडेलले भन्नुभएको छ, ‘नेपालको एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको ३०२औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली ! हामी सबै नेपालीले नेपाली हुनुमा गर्व गर्न र नेपालको श्रीवृद्धिमा आ–आफ्नो ठाउँबाट योगदान गर्न सकौं ।’

उहाँले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना समेत दिनुभएको छ ।