जनता टाइम्स

२८ पुष २०८०, शनिबार १९:३६

माओवादीका २ केन्द्रीय सदस्य निष्काशित, दर्जन केन्द्रीय सदस्यलाई स्पष्टिकरण


काठमाडौं, पुस २८ । नेकपा माओवादी केन्द्रको स्थायी समितिले दुई केन्द्रीय सदस्यलाई साधारण सदस्य नहरने गरी कारबाही गरेको छ । पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै बिरु तामाङ र उमा बिकलाई कारबाही गर्ने निर्णय गरेको हो ।

तामाङ राजावादी गतिविधिमा संलग्न भएको र बिक केही समयअघि एमालेमा प्रवेश गरेकाले कारबाही गरेको माओवादीले जनाएको छ । यस्तै बैठकले माओवादीको चार महिने विशेष रुपान्तरण अभियानमा कार्यक्षेत्रमा नजाने दर्जन बढी केन्द्रीय सदस्यको पहिचान गरी स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभए कारबाही गर्ने निर्णय पनि स्थायी समितिले गरेको छ ।

माओवादीले भदौ १६ देखि सञ्चालन गरेको चार महिने विशेष रुपान्तरण अभियानको समीक्षा गर्दै पार्टीलाई गतिशील बनाएको निष्कर्ष निकालेको छ । बैठकमा सात प्रदेश र विशेष समितिका इन्चार्जले विशेष रुपान्तरण अभियानको समीक्षा गर्दै रिपोर्टिङ गरेका थिए ।