नेपालगञ्ज, १ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकास र सम्बृद्धिको लागि बलियो राजनीतिक शक्ति आवश्यक पर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल बाँकेले नेपालगञ्जमा आज दिउँसो आयोजना गरेको पत्रकारमा बोल्दै महासचिव पोखरेलले मुलुकको विकास र सम्बृद्धिको लागि बलियो राजनीतिक शक्तिलेमात्र निकास दिनसक्ने कुरामा जोड दिनुभयो ।
‘नयाँ पपुलारिटीको रूपमा आएका शक्तिले केही गर्न सक्दैनन् । मुलुकमा केही गर्ने हो भने बलियो राजनीतिक शक्तिले मात्र गर्न सक्छ’, उहाँले भन्नुभयो । वर्तमान सरकारका कारण मुलुक बैदेशिक शक्ति केन्द्रहरुको क्रिडास्थल भएको आरोप लगाउँदै गठबन्धन सरकारले बजेटरी प्रणाली भन्दा बाहिर गएर आफूले गर्नुपर्ने काम दूतावासमा सुम्पेको विषयमा चिन्ता ब्यक्त गर्नुभयो ।
उहाँले थप्नुभयो,‘आइएनजियोलाई समेत निगरानी गर्नु पर्ने बेलामा बजेटरी प्रणालीलाई चुनौति दिँदै आफ्नो लाचारी पन प्रस्तुत गरेर सरकार र राज्यले गर्ने काम दूतावासलाई सुम्पनु अत्यन्त निन्दाको काम भएको छ ।’
वर्तमान सरकार र सत्ता गठबन्धनले संबिधानको रक्षा गर्न नसकेको र अतिबादलाई प्रबद्धन गर्ने काम गरेको बताउँदै एमालेको पुष्पलाल मध्यपहाडि सम्बृद्धिको यात्राले जनतामा केही आशा थपेको उल्लेख गर्दै यो यात्रा एमालेको मात्र नभएर समग्र राष्ट्रको संकल्प यात्रा भएको ठोकुवा गर्नुभयो ।
उहाँले चाँडै नै हुलाकी सडकको यात्रा तय गर्ने एमालेको तयारी रहेको पनि जानकारी दिनुभयो । एक अर्को फरक प्रसंगमा एमाले महासचिव पोखरेलले एमाले समानुपातिकतर्फ जनताले अत्याधिक रुचाएको पार्टी भएकोले मिसन ८४ का लागि तयारी गरेको तर, सत्तामा सहभागि हुने तत्काल कुनै सम्भावना नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्