प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पिउदिन भन्दा भन्दै पिलायो साथीले भन्ने बोलको गीतकै जस्तो ब्यवहार गर्नुभएको छ
काठमाडौं, माघ ३ । पिउदिन भन्दा भन्दै पिलायो साथीले… भन्ने बोलको गीत नेपालमा निकै चर्चित छ । मादक पदार्थ सेवन गर्नेहरुको कथालाई यो गीतले यथार्थ चित्रण गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा पनि यो गीतकै जस्तो ब्यवहार पाइएको छ । तेस्रोपटक प्रधानमन्त्री निर्वाचित भएपछि दाहालले भन्नुभएको थियो, ‘नेपाल सरकारका मन्त्री र अन्य उच्चपदस्थ कर्मचारीले अब उप्रान्त अति आवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्नु होला ।’
फजुल खर्च घटाउन तथा विदेश मोह त्याग्नुपर्ने भन्दै प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिनुभएको थियो । तर, प्रधानमन्त्री दाहाल आफैं भने विदेश उडेको उड्यै गरेर पिउदिन भन्दा भन्दै पिलायो साथीले भन्ने गीतलाई पनि माथ गर्नुभएको छ । यति छोटो अवधिमा सबैभन्दा बढी समय विदेश जानेमा प्रधानमन्त्री दाहाल नै पर्नुभएको छ ।
एक वर्षको अवधिमा प्रधानमन्त्री दाहालले भारत, इटाली, अमेरिका, चीन र दुबईको भ्रमण गरिसक्नुभएको छ । उहाँ माघ ४ गते अर्थात भोलि बिहीबार युगान्डा जाँदै हुनुहुन्छ । त्यस लगत्तै स्विट्जरल्यान्ड उड्ने आन्तरिक तयारी छ । युगाण्डा भ्रमणको बिषयमा उहाँले जान मन नलाग्दा नलाग्दै जानुपरेको बताउनु भएको छ ।
प्रधानमन्त्री दाहालले गत जेठमा छिमेकी भारतबाटै भ्रमण सुरु गर्नुभएको थियो । उहाँले जेठ १७ देखि २० गतेसम्म भारत भ्रमण गर्नुभएको हो । उक्त भ्रमण टोलीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल हुनुहुन्थ्यो । त्यस्तै मुख्यसचिव शंकरदास वैरागीसहित ८ सचिव पनि भ्रमण टोलीमा सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्री दाहाल साउन ८ देखि १० गतेसम्म भएको संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन परिवारका अन्य सदस्यलाई लिएर इटाली पुग्नुभयो । त्यसबेला जानै नपर्ने भ्रमणमा गएको भन्दै आलोचना भयो । यस्तै गत भदौमा अमेरिका भ्रमणमा जानुभयो ।
प्रधानमन्त्री दाहाल भदौ ३१ देखि असोज ४ सम्म संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन अमेरिका जानुभएको हो । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधि मण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिव, परराष्ट्र सचिव, अमेरिकाका लागि नेपाली राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, महावाणिज्य दूतावासका पदाधिकारी सहभागी हुनुभयो ।
प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट असोज ५ गते सीधै चीन भ्रमणमा जानुभयो । चीन भ्रमणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्रराय यादव, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू सहभागी हुनुहुन्थ्यो । परराराष्ट्रमन्त्री एनपी साउद अमेरिका हुँदै असोज ६ गते र भौतिक राज्यमन्त्री नन्दा चापागाईं असोज ७ गते चीन पुग्नुभएको थियो ।
यसैगरी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री मंसिरमा यूएई जानुभयो । उाहँसँगै वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो, सहरी विकासमन्त्री सीता गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत भ्रमणमा जानुभएको थियो ।
प्रधानमन्त्री दाहाल असंलग्न आन्दोलन (नाम) को १९औं शिखर बैठकमा भाग लिन भोलि बिहीबार युगान्डाको राजधानी कम्पाला जाँदै हुनुहुन्छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री साउद, परराष्ट्रसचिव सेवा लम्साल, परराष्ट्रका प्रवक्ता अमृत राई, गंगा दाहाललगायत रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
शिखर सम्मेलनअन्तर्गत प्रधानमन्त्री प्रचण्डले माघ ५ गते ‘साझा वैश्विक समृद्धिका लागि सहयोग विस्तार’ विषयक प्रारम्भिक बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल युगान्डामा ४ दिन रहने र युगान्डाबाट फर्केलगत्तै स्विट्जरल्यान्ड जाने आन्तरिक तयारीमा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्