अछाम, ३ माघ । अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदले आफुलाई मुक्का बजारेका १ जना सहित २ जना कर्मचारीको करार म्याद नथप्ने अडान लिएपछि कार्यपालिका बैठकमा बिवाद चुलिएको छ । गाउँपालिकाका अध्यक्ष साउँदलाई गाउँपालिकामा कार्यरत सरसफाई कर्मचारी नृप साउँद र कृषि प्राविधिक दिपक कसाराको करार म्याद थप नगर्ने बिषयमा जोड दिएपछि कार्यपालिका बैठकमा बिवाद चुलिएको हो ।
दुवै जना करार कर्मचारीको म्याद थप नगर्ने कार्यपालिका बैठकको निर्णयमा गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले भने असहमती जनाउनुभएको छ । गएको पुस २९ गतेको कार्यपालिका बैठकको उक्त निर्णयमा उपाध्यक्ष रावलले नोट अफ डिसेन्ट जनाउनुभएको हो । टेक बहादुर साउँद गाउँपालिका अध्यक्षमा निर्वाचित भए पश्चात् कार्यपालिकामा नोट अफ डिसेन्ट पेश भएको यो पहिलो घटना हो ।
स्रोतका अनुसार गाउँपालिका अध्यक्ष साउँदले कर्मचारीबाट हटाउन जोड गरेका सरसफाई कर्मचारी नृप साउँदले ३ बर्ष अघि गाउँपालिका अध्यक्षलाई मुक्का बजारेका थिए । नेपाली कांग्रेसको स्थानीय नेताका रुपमा रहेका हालका गाउँपालिका अध्यक्ष र गाउँपालिकामा कार्यरत रहेका नृप साउँदबिच गाउँपालिका नजिकैको एक होटलमा मदिरा सेवन गर्ने क्रममा हात हालाहाल हुँदा उनले अध्यक्षलाई मुक्का बजारेका थिए ।
बिवादका क्रममा उक्त समयमा मुक्का बजार्ने साउँदको अध्यक्ष साउँदले औँला चपाएका थिए । हाल गाउँपालिकामा २ दर्जन बढि सरसफाई कर्मचारी करारमा कार्यरत रहे पनि आफुलाई मुक्का बजारेको बदला स्वरुप उनलाई करार कर्मचारीबाट हटाउन अध्यक्ष तम्सिएको स्रोतको दाबी छ ।













प्रतिक्रिया दिनुहोस्