इलाम, माघ ४ । नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङले अहिले मुलुकमा संघीयताको कुनै विकल्प नरहेको प्रष्ट पार्नुभएको छ ।
इलाममा आयोजित माघे सङ्क्रान्ति सत्यहाङमा मकर सेवा समारोहको प्रमुख अतिथि रहनुभएका एमाले नेता नेम्वाङले संघीयतालाई बलियो बनाउन सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । ‘संघीयताको विकल्प छैन अहिले, अहिले मुलुकमा यसको विकल्प खोज्नु हुँदैन, पाइँदैन, त्यसलाई हामीले ठीक ढङ्गले प्रयोग गर्नुपर्छ, त्यसले ठिक ठाउँमा पुर्याउँछ,’ पूर्वमन्त्रीसमेत रहनुभएका नेता नेम्वाङले भन्नुभयो ।
के सत्ता पक्ष, के प्रतिपक्ष आजको राष्ट्रको आवश्यकता देशका सम्पदाको जगेर्ना र विकास रहेको उहाँले बताउनुभयो । ‘सबैजना एक जुट, एक स्वर हुनुपर्छ, सबै जना लाग्नुपर्छ, अनि मात्र हामीले मुलुकको आवश्यकता पूरा गर्न सक्छौँ’, उहाँले भन्नुभयो ।
बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक अनेकता बिचको एकता नै नेपालको मौलिकता रहेको पनि उहाँले बताउनुभयो । नेम्वाङले यो नेपालको पहिचान भएको बताउँदै यी सबै नेपाली मौलिक पहिचानको देन भएको प्रष्ट पार्नुभयो । नेपाली समाजलाई एक बनाउन किरात धर्मगुरु–गुरुआमाले खेल्नु भएको भूमिका सराहनीय रहेको नेम्वाङले बताउनभयो ।
नेम्वाङले सबैलाई संयमता, हार्दिकता, एकता, सद्भावलाई अझ बलियो बनाएर समग्र मुलुकको विकासका निम्ति टेवा पुर्याउन पनि आग्रह गर्नुभयो । उहाँले सबैलाई धार्मिक तथा सांस्कृतिक विकास सँगै अन्य क्षेत्रको सर्वाङ्गीण विकासमा सशक्त भएर लाग्न आह्वान गर्नुभयो ।
इलाममा सुवास नेम्वाङले देख्नु भएको सपना पूरा गर्न अझ धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो । सडक, पुल लगायतका पूर्वाधार निर्माणका काम सुरु भएका भए पनि ती काम पूरा गर्न बाँकी नै रहेको नेम्वाङले सुनाउनुभयो । ‘ ‘इलाममा सुवास नेम्वाङले देख्नु भएको सपना पूरा गर्न अझ धेरै काम गर्न बाँकी छ,’ उहाँले भन्नुभयो ।
नेपाली बिचको हार्दिकतालाई अझ प्रगाढ बनाउन संवाद र छलफल चलाउनु पर्ने उहाँले बताउनुभयो । संवाद र छलफलबाट मात्रै सबै समस्याको समाधान हुने उहाँले प्रष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्