काठमाडौं, माघ ४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारको गतिविधिको कारण देशको सार्वभौमसत्ता खुम्चिएको बताउनुभएको छ ।
बिहीबार नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गठबन्धन सरकारको कारण देशको सार्वभौमसत्ता र स्वाधीनता जोखिममा परेको बताउनुभयो । ‘प्रचण्ड नेतृत्व सरकारले देशको सार्वभौमिकता, सार्वभौमसत्ता र स्वाधीनतालाई खुम्च्याउने काम गरेको छ’, उहाँले भन्नुभयो ।
देशभक्तिको सवालमा, राष्ट्रियताको सवालमा नेकपा एमालेले जत्तिको कसैले पनि काम गर्न नसकेको पोखरेलले बताउनुभयो । एमाले सरकारबाट हटेसँगै यी सबै कुरा ओरालो लागेको पोखरेलको भनाइ छ ।
एमाले सरकारमा रहेको बेला विकास र समृद्धिका अनेक आयोजना सुरु गरेको पोखरेलले बताउनुभयो । तर अहिले ती सबै योजनाको काम ठप्प भएको पोखरेलले उदाहरण दिनुभयो । आफूले मौका पाएको बेला यति धेरै काम गरेको पार्टी नेकपा एमाले आज चौतर्फी घेराबन्दीमा परेको उहाँले बताउनुभयो ।
पोखरेलले आज उत्पन्न भएका समस्या आजकै परिस्थितिमा समाधान गर्न नसकिने बताउनुभयो । नयाँ सम्भावनाको जगमा टेकेर समाधान खोज्यो भने मात्र समस्याको समाधान निस्कने पोखरेलले प्रष्ट पार्नुभयो । समस्या समाधानको लागि नयाँ विकल्प खोज्न आवश्यक रहेको पोखरेलको भनाइ छ ।












प्रतिक्रिया दिनुहोस्