जनता टाइम्स

६ माघ २०८०, शनिबार १३:३०

पहिचान पक्षधरसँग बार्ता गर्न कोशी प्रदेश सरकारले बनायो तीन सदस्यीय समिति


विराटनगर, माघ ६ । कोशी प्रदेश सरकारले आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

समितिको सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहनुभएको छ । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईका अनुसार समितिले प्रदेश नामको विरोधमा आन्दोलन गरिरहेको पहिचान पक्षधरसँग वार्ता गर्नेछ ।

वार्ता समिति संयोजक मन्त्री जबेगुले तत्काल समितिको बैठक बसेर निर्णय गरी आन्दोलनरत पक्षलाई पत्राचार गरेर वार्ता प्रक्रिया अघि बढाउने बताउनु भया । मुख्यमन्त्री केदार कार्कीले पहिचान पक्षधरको माग र मुद्दा सम्बोधनका लागि आन्दोलनरत पक्षसँग वार्ता समिति गठन गरेको जानकारी दिनुएको छ । गत बर्षको फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति गठन गरी आन्दोलित छन् ।

यस्तै बैठकले प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि पहिलो संशोधन स्वीकृत, केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० सिफारिस गर्ने र १० वर्षमुनिका बालबालिकाहरूको निःशुल्क उपचारका लागि कोशी प्रदेश बालबालिक संरक्षण नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ ।