चितवन, माघ ६ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकार हरेक कोणबाट नालायक साबित भइसकेको बताउनुभएको छ ।
शनिबार माडीमा नेकपा एमाले चितवनले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विकास, सुशासन, सुरक्षा, अपराध नियन्त्रण सबै विषयमा सरकार असफल भएको बताउनुभयो । गठबन्धन सरकारको कारण देश बरबादी तर्फ गएको उहाँको भनाइ छ ।
नेपाली जनताले यस्तो असक्षम सरकारलाई बिदा गर्नुपर्ने पोखरेलले बताउनुभयो । ‘त्यो समय आइपुग्यो, अब लामो समय प्रतीक्षा गर्ने हो भने राष्ट्र बरबाद हुन्छ, कि त जिम्मेवार भएर काम गर, अन्यथा सत्ता छाड भन्ने बेला आइसक्यो’, पोखरेलले भन्नुभयो ।
हिजो भारतसँग लड्ने भनेर नेपाली युवालाई प्रयोग गरी ठाउँ ठाउँमा बङ्कर खन्ने माओवादी अध्यक्ष प्रचण्ड आज सत्ताको लागि भारतसँग लम्पसार परिरहनुभएको पोखरेले बताउनुभयो । प्रचण्डले आज जे कुरामा गर्व गरिरहनुभएको छ, त्यो राष्ट्रको लागि लज्जावोधको विषय बनेको पोखरेलको भनाइ छ । सुरुङ युद्धको कुरा गर्ने माओवादी सुप्रिमो आज २० करोड सम्मका योजनामा आफू खुसी काम गर्ने भारतलाई सुम्पने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।
पोखरेलले नेपालका मौलिक संस्कृतिको जति धेरै प्रवर्धन गर्न सक्यो त्यति नै देशको समृद्धि हुने बताउनुभयो । देशको मौलिक संस्कृतिको प्रवर्धनले देश बलियो हुने उहाँको भनाइ छ । तर आज देशको मौलिक संस्कार र संस्कृति माथि नै प्रहार भएको उहाँले बताउनुभयो । ‘आज मुलुकको मौलिक संस्कृति माथि प्रहार भइरहेको छ, जातीय अतिवादको नाममा, धार्मिक अगतिवादका नाममा मौलिक संस्कृतिलाई कमजोर बनाउने काम भइरहेको छ, नेपालका मौलिक चाडपर्वलाई धर्म विशेषको पर्वको रूपमा चित्रण गर्ने काम भइरहेको छ’, उहाँले भन्नुभयो ।
जातीय भेद नेपाली मौलिकता नभएको पनि उहाँले प्रष्ट पार्नुभयो । जातिभेदका नाममा आज धर्मान्तरको काम भइरहेको उहाँले बताउनुभयो । ‘जाति भेदका नाममा, छुवाछुतका नाममा आज धर्मान्तरलाई प्रोत्साहित गर्ने प्रवृत्ति अगाडि बढिराखेको छ, नेपाल राष्ट्रलाई कमजोर बनाउने काम भइरहेको छ’, पोखरेलले भन्नुभयो ।
माओवादी आन्दोलनले नेपाली मौलिक संस्कृति र चाडपर्वलाई बहिष्कार गर्ने काम गरेको उहाँले बताउनुभयो । नेपालका मौलिक संस्कृतिलाई कमजोर पार्न माओवादीले दशैँ बहिष्कारको अभियान नै चलाएको पोखरेलको भनाइ छ ।माओवादीले समाजलाई विभाजित गर्ने काम गरेको उहाँले बताउनुभयो । समाजमा आज मौलाउन खोजिएका जातीय अतिवादको बिउ माओवादीलाई भरिया बनाएर पश्चिमाहरूले रोपिदिएका पोखरेलको भनाइ छ ।
राज्य र जनता बिचको सम्बन्धलाई कसिलो बनाउन नसक्नुको कारण सामाजिक अराजकता बढेको उहाँले बताउनुभयो । पछिल्लो समय समाजमा ठुलो निराशा बढेको उहाँको भनाई जसको परिणाम देश छाड्नको सङ्ख्या ह्वात्तै बढेको पोखरेलको भनाइ छ । नेपालमा बसेर केही पनि हुँदैन भनेर युवालाई देश छाड्ने माहौल बनाइएको भन्दै उहाँले आलोचना गर्नभयो । तर सरकार यसमा गम्भीर नभएको उहाँले बताउनुभयो ।
गठबन्धन नामको सरकार बनेपछि विकास निर्माणका काम ठप्प भएको उहाँले बताउनुभयो । सरकारले पैसा खर्च गर्न नसेको कारण मुलुकको अर्थतन्त्र उठ्न नसकेको उहाँले प्रष्ट पार्नुभयो । आज गठबन्धन सरकारको कारण देशका सबै क्षेत्रमा निराशा छाएको पोखरेलले टिप्पणी गर्नुभयो ।
यी सबै निराशा र बेथिति नेकपा एमालेले मात्र हटाउन सक्ने उहाँले बताउनुभयो । एमालेलाई जनताले चाहेका भए पनि एमालेलाई घेराबन्दी गरेर रोकिएको पोखरेलको भनाइ छ । एमालेको बढ्दो प्रभावलाई रोक्न अनेक खालका नन्दी भृङ्गीहरू खडा गरिएका पोखरेलले बताउनुभयो ।
हिजो विभाजनको रेखा कोर्नेहरू नै आज राजनीतिक एकताको कुरा गरिरहेका भन्दै पोखरेलले आलोचना गर्नुभयो । हिजो पञ्चायतका विरुद्ध एक भएर आन्दोलन गरौँ भनेर बारम्बार पुष्पलालले भन्दा नटेर्ने नेपाली कांग्रेस आए राजनीतिक एकताको कुरा गरिरहेको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्