जनता टाइम्स

१० माघ २०८०, बुधबार १९:३२

अख्तियारले खोल्यो सुनिल र विकल पौडेल पक्राउ पर्नुको कारण, यी हुन ५ आधार


काठमाडौं, माघ १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण प्रिन्टिङ प्रेसका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गर्नुको मुख्य कारण खोलेको छ ।

अख्तियारले आज दुवै जनालाई पक्राउ गरेको थियो । अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अनुसन्धानमा बोलाउदा अटेरी गरेको कारण पक्राउ गरिएको जनाएको हो ।

अख्तियार स्रोतले भन्यो, ‘अभियुक्तहरु (पौडेलद्वय) ले नेपाल राष्ट्र बैंकको स्वीकृतिविना विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको, सरकारी सेवामा रहेकै बेला अन्तर्राष्ट्रिय परामर्शदाताका रुपमा काम गरेको र सरकारी सेवामा रहेकै बेला अमेरिकाको पीआर लिएको देखिएकाले प्रमाण नष्ट गर्नसक्ने र भाग्नसक्ने देखिएकाले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो ।’

अख्तियारले दुवैजनालाई बुधबार उनीहरूको निवासबाटै पक्राउ गरेर हिरासतमा लिएको हो । उनीहरू दुवैजनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धान भइरहेको छ । भ्रष्टाचारसम्बन्धी मुद्दाको अनुसन्धानका लागि बयानमा बोलाउँदा दुवैजनाले अख्तियारमा उपस्थित हुन अटेरी गरेको आयोग स्रोतले जनाएको छ ।

त्यसपछि उनीहरू दुवैजनाको निवासमा पुगेर छापा हानेको अख्तियारले पक्राउ गरी हिरासतमा लिएको हो । उनीहरूविरुद्ध अख्तियारले यसअघि नै भ्रष्टाचार मुद्दा चलाइसकेको छ । भ्रष्टाचार मुद्दामा तानिएका दुवैजनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनबारे अर्को उजुरी दर्ता भएको थियो । तर उक्त उजुरीबारे बयानमा बोलाउँदा दुवैले अटेरी गरेर बसेपछि पक्राउ गर्नुपरेको अख्तियार स्रोतको भनाई छ ।

पक्राउ परेका दुवैजनालाई भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतमा उपस्थित गराउने अख्तियारको तयारी छ । अख्तियारले सुनिल पौडेलसहितविरुद्ध २०८० असोज १५ गते २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा चलाएको थियो।

त्यसबेला अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, केन्द्रका उप–निर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेश पोखरेल र तत्कालीन लेखा अधिकृतहरू निमबहादुर वली र रामबहादुर बुढाविरुद्ध पनि मुद्दा चलाएको थियो।

अख्तियारले कम्प्युटर इन्जिनियर रामशरण गायक, अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख मधु मरासिनीविरुद्ध पनि मुद्दा दायर गरेको थियो।
अर्का आरोपी विकल पौडेलविरुद्ध ७० करोड रुपैँया विगो मागदाबीसहित अख्तियारले गत वैशाखमा भ्रष्टाचार मुद्दा चलाएको थियो ।