काठमाडौं, माघ ११ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमाथि छानविन गर्न सरकारले समिति बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
एनआरएनएको समस्या समाधान गर्न र भेरोमार्फत गरिएको अनलाइन निर्वाचन धाँधलीका बारेमा छानबिन गर्ने कार्यादेश रहेको छ । एक साताअघि नै परराष्ट्रमन्त्री एनपी साउदले एनआरएनएमा भएको अनलाइन निर्वाचनको बिषयमा छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गर्नुभएको थियो ।
सो निर्णयलाई मन्त्रिपरिषबाटै अनुमोदन गरेर कार्यान्वयनमा ल्याइएको हो । छानबिन समितिको संयोजकमा महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुबकुमार चौहान तोकिनुभएको छ ।
यस्तै सदस्यहरुमा परराष्ट्र मन्त्रालयका सहसचिव रीता धिताल, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्य र अर्थ मन्त्रालयका उपसचिव हेमराज पौडेल रहनुभएको छ । समितिलाई एनआरएनए निर्वाचनमा भएको धाँधलीका साथै एनआरएनए भित्रको विवादका समग्र विषयमा अध्ययन गरेर दुई साताभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ ।
समिति गठनअघि परराष्ट्रमन्त्री साउदले कानुनी परामर्शका साथै विभिन्न चरणमा एनआरएनए अभियन्ताहरुसँग छलफल गर्नुभएको थियो ।उहाँले पूर्वअध्यक्षहरु उपेन्द्र महतो र जीवा लामिछानेसँग पनि छलफल गर्नुभएको छ । समिति गठन गर्नुअघि निवर्तमान अध्यक्ष कुल आचार्यका साथै निवर्तमान उपाध्यक्ष डीबी क्षेत्रीलगायतसँग समेत मन्त्री साउदले छलफल गर्नुभएको थियो ।
छानबिन समितिको संयोजकमा महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुबकुमार चौहान तोकिनुभएको छ । यस्तै सदस्यहरुमा परराष्ट्र मन्त्रालयका सहसचिव रीता धिताल, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्य र अर्थ मन्त्रालयका उपसचिव हेमराज पौडेल रहनुभएको छ ।
समग्र कानुनी र अन्य प्राविधिक विषयको अध्ययनपछि चौहानको संयोजकत्वमा समिति गठन गर्दै समस्या र निकासको उपायसमेत पहिल्याउँदै प्रतिवेदन तयार गर्न भनिएको छ । समितिले दिने प्रतिवेदनका आधारमा परराष्ट्रले एनआरएनएबारे थप कदम चाल्ने बताइएको छ ।
समितिले एनआरएनएको विवादसम्बन्धी हालसम्म परराष्ट्रमा परेका उजुरीका साथै आवश्यकताअनुसार सबै पक्षसँग छलफल गरेर प्रतिवेदन तयार गर्नेछ ।
एनआरएनएको ११ औँ महाधिवेशनमा निर्वाचित डा. बद्री केसीले भेरो अनलाईन सिस्टम ह्याक गरेर निर्वाचन आफ्नो पक्षमा पारेको आरोप प्रतिस्पर्धीहरु आरके शर्मा र महेश श्रेष्ठ समुहले लगाउँदै आएको छ । सो आरोपसँगै शर्मा र श्रेष्ठ समुहले शर्माको अध्यक्षतामा अर्काे कार्यसमिति घोषणा गरेर हिडेको छ ।
प्रतिक्रिया दिनुहोस्