जनता टाइम्स

११ माघ २०८०, बिहीबार १३:४६

बहिष्कारमा उत्रिए बालेन र हर्क, राष्ट्रिय सभा निर्वाचनमा गरेनन मतदान


काठमाडौं, ११ माघ । राष्ट्रिय सभा सदस्य चयनका लागि सातवटै प्रदेशमा आज निर्वाचन भइरहेको छ । तर, राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनको मतदाता रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उप–महानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले भने मतदान नगर्ने हुनुभएको छ ।

राष्ट्रियसभा निर्वाचनअन्तर्गत हेटौँडास्थित बागमती प्रदेश निर्वाचन कार्यालयमा चार पदका लागि मतदान जारी छ । तर, शाह हेटौँडा पुग्नुभएको छैन ।

महानगरका नयाँ प्रशासकीय अधिकृतसँग बैठक भएकाले उहाँ मतदान गर्न जाने सम्भावन कम रहेको बताइएको छ । यस्तै धरान उपपहानगरका प्रमुख साम्पाङ कार्यव्यस्तता देखाउँदै राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान नगर्ने हुनुभएको हो ।

बिहान ९ बजेबाट सातै प्रदेशका प्रदेश निर्वाचन कार्यालयमा सुरु भएको मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।