जनता टाइम्स

११ माघ २०८०, बिहीबार २२:२७

कोशीमा एमालेले तोड्यो सत्ता गठबन्धनको चक्रब्यूँह : यी हुन राष्ट्रियसभा सदस्यमा निर्वाचित उम्मेदवार


काठमाडौं, माघ ११ । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका १८ जना उम्मेदवार विजयी भएका छन्। सत्ता गठबन्धनका १७ र एक जना प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन ।

कोशी प्रदेशमा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी हुनुभयो भने एमालेकी रुक्मिणी कोइराला विजयी हुनुभएको छ ।कोइरालाले माओवादी उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्नुभएको हो ।

कोइरालाले ५ हजार ८६ मत ल्याउँदा प्रतिस्पर्धी चम्पादेवीले ४ हजार ९९२ मत ल्षउनु भयो । कांग्रेसका केही मतदाताले फ्लोर क्रस गरेपछि एमाले उम्मेदवार कोइराला विजयी भएकी हुनुभएको हो । त्यस्तै सिटौलाले ५ हजार २९२ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वी राप्रपाका उद्धव पौडेलले ४ हजार ५६२ मत पाउनु भयो । उहाँहरूबीच ७३० को मतान्तर रह्यो।

यसैगरी मधेस प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भए। कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी विजयी हुनुभएको छ । ढुंगानाले ७ हजार ३७० मतभार ल्याउनु भयो भने पूजाले ७ हजार ९२३ मतभार ल्याउनु भयो। उहाँहरूका प्रतिद्वन्द्वी एमालेका विजेता झाले २ हजार ४८४ मतभार र उषा चौधरीले दुई हजार ४४६ मतभार पाउनु भएको छ ।

त्यस्तै बागमती प्रदेशमा गठबन्धनका चार जना उम्मेदवार विजयी भएका छन्। कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, माओवादीका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी हुनुभएको हो । बस्नेतले ६५३१ मतभार, पुडासैनीले ६६२२ मतभार, अधिकारीले ६३८३ र रिजालले ६५१२ मतभार ल्याउनु भयो।

त्यस्तै गण्डकीमा गठबन्धनका तीन जना उम्मेदवार विजयी भए। कांग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र माओवादीकी मनरुपा शर्मा निर्वाचित हुनुभएको हो । श्रेष्ठले ३८०८, मनरुपाले ३६६० र परियारले ३७७९ मतभार ल्याउनु भएको छ।

त्यस्तै लुम्बिनी प्रदेशमा गठबन्धनका दुवै उम्मेदवार विजयी भए। कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदी विजयी हुनुभएको छ । त्यस्तै कर्णालीमा प्रदेशमा गठबन्धनका तीनैजना उम्मेदवार विजयी भए। एकीकृत समाजवादीकी सावित्री मल्ल, कांग्रेसका कृष्णबहादुर रोकाया र माओवादीका विष्णु विक निर्वाचित हुनभएको छ । मल्लले ३ हजार ७२२, रोकायाले ३ हजार ८७० र विकले ३ हजार ८१७ मतभार ल्याउनु भयो ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धनका तीनै जना उम्मेदवार विजयी हुनुभएको छ । कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४१९ मतभार, बलदेव बोहरा ४ हजार ३२८ मतभार र माओवादीकी रेणु चन्द ४ हजार ४५३ मतभारसहित विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।