जनता टाइम्स

१२ माघ २०८०, शुक्रबार २३:०४

बिमानस्थलमा भएको कुटपिटको घटना छानविन गर्न गृहले बनायो समिति


काठमाडौं, माघ १२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीच भएको हातपातबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन भएको छ । घटना सार्वजनिक भएलगत्तै गृह मन्त्रालयले आज छानविन समिति गठन गरेको हो ।

घटनाबारे मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको जनाउँदै मन्त्रालयले गृह मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेशनाथ बास्तोल र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जीसी सदस्य रहनुभएको छ ।

समितिलाई घटनाबारे आवश्यक छानबिन गरी तीन दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न समय तोकिएको मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

आज दिउँसो चेकजाँचका क्रममा अध्यागमनका कर्मचारी र प्रहरीबीच हातपात भएको थियो । प्रहरीले बिमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगन हमालमाथि समेत मुक्का प्रहार गरेका थिए ।