जनता टाइम्स

१४ माघ २०८०, आईतवार १२:५२

नेपाल–चीन सम्बन्धमा भाँजो हाल्न खोजिन्छ: चिनियाँ नेता हाइयान


काठमाडौं, १४ माघ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले कतिपय देशले नेपाल र चीनको सम्बन्ध राम्रो देख्न नचाहेको बताउनुभएको छ ।

काठमाडौंमा राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो भएको बताउँदै केहीले यस्तो देख्न नचाहेको बताउनुभएको हो ।

‘हामी राजनीतिक दलहरूबीच राम्रो सम्बन्ध बनाउन चाहन्छौं’ उहाँले भन्नुभयो, ‘किनभने केही देशहरु हाम्रो सम्बन्धमा भाँजो हाल्न चाहिरहेका छन् ‘

अहिले गुटहरू बनाउने, क्षेत्रीय द्वन्द्व बढाउने र गलत अफवाह फैलाउने काम भएको बताउँदै उहाँले त्यसलाई चिर्दै चीन र नेपालबीचको मित्रता अझ बलियो बनाउन जरुरी रहेको बताउनुभयो ।

वर्तमान समयमा धेरै किसिमका सहमति र समझदारीले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै उहाँको भनाइ छ ।

उहाँले नेपालमा चिनियाँ पर्यटकहरू आइराखेको बताउँदै नेपालमा थप पूर्वाधार विकास आवश्यक रहेको बताउनुभयो ।

नेपालमा नीतिगत सुधारको खाँचो रहेको उहाँले बताउनुभयो । नीतिगत सुधार हुँदा धेरैभन्दा धेरै लगानी भित्र्याउन सकिने उहाँको सुझाव छ ।

नेपालमा परियोजना समयमा सम्पन्न गर्न ढिलाइ हुनुमा धेरै समस्या रहेको भन्दै उहाँले तिनलाई आपसी समझदारीमा सल्टाउनु पर्ने बताउनुभयो ।

उहाँले नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान कार्यक्रम गर्नुपर्ने बताउनुभयो । साथै, नेपालको चाहना चिनियाँ छात्रवृत्ति धेरैभन्दा धेरै देओस् भन्ने रहेको र त्यसमा छलफल गर्ने उहाँले बताउनुभयो ।