जनता टाइम्स

१६ माघ २०८०, मंगलवार १३:४१

सहिद दिवसको प्रेरणा नभुलौँ : केपी ओली


काठमाडौं, १६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद दिवको प्रेरणालाई कसैले भुल्नु नहुने बताउनुभएको छ । नेपालमा जहानियाँ राणा शासन अन्त्यको लागि जीवन बलिदान दिनुहुने चार महान् सहिदहरूलाई स्मरण गर्दै ओलीले उहाँहरू प्रति नमन व्यक्त गर्नुभएको छ । सहिद दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ओलीले युग परिवर्तन गर्न उहाँहरूको ठुलो योगदान रहेको स्मरण गर्नुभएको छ ।

उहाँहरूले जहानियाँ राणा शासनको अँध्यारोबाट देशलाई उज्यालो युगमा प्रवेश गाउनुभएको ओलीले बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा ओलीले देशलाई प्रजातन्त्रको उज्यालो दिन जीवन अर्पण गर्ने सहिदहरू प्रति नमन गर्नुभएको छ । ‘युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्यालो दिन जीवन अर्पण गर्नु भएका अमर शहीद गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीलाई नमन, शहीद दिवसको प्रेरणा नभुलौँ, सबैलाई शुभकामना’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

प्रजातन्त्रको माग गर्दै आन्दोलनमा उत्रिनु भएको शहीद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते तत्कालीन जहानियाँ राणा शासकले काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा तथा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्यु दण्ड दिएका थिए । त्यसैको स्मरणमा हरेक वर्ष सप्ताहव्यापी रूपमा सहिद दिवस मनाइँदै आएको छ ।