सिन्धुपाल्चोक, १७ माघ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार बाह्रसिंगेजस्तो भएको टिप्पणी गर्नुभयो । आज पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो,‘अहिलेको सरकार बाह्रसिंगेजस्तो छ । बाह्रसिंगेको एउटा सिङ जंगलमा अड्किन्छ अनि त्यो त्यहि मर्छ । एउटा सिङ जंगलमा अड्किनसाथ त्यो त्यहि सकिन्छ त्यसैले यो अहिलेको गठबन्धन पनि ठ्याक्कै त्यस्तै ।’
उहाँले वर्तमान गठबन्धन कारण देश गम्भीर अवस्थामा पुगेको पनि बताउनुभएको छ । अध्यक्ष ओलीले एमाले सरकारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुर्मुराउनुपर्ने सुनाउनुभयो । उहाँले ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने अठोट व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले गठबन्धनका कारण अहिले देशमा ग्रहण लागेको बताउनुभयो । एमालेलाई छेक्न ८ वटा राजनीतिक दलहरु लागेको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी सरकारमा जाने हतार गर्दैनौँ । अब यिनीहरुले गर्न सकेनन् भने त हामीले फेरि उठ्न त परिहाल्छ । तर हामी मिसन २०८४ भनेर ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्छ । हरेक ठाउँ जित्नेगरी एमालेको तयारी हुनुपर्छ । सरकारमा हुने गठबन्धनेहरुलाई पनि भनिरहेको छु मैले । गम्भीर हुनुपर्ने अवस्था छ। यदि गम्भीर भएन भने देश बरबाद हुन्छ ।’
एक अर्को प्रसंगमा कार्यक्रममा उहाँले पालिका विकासको काममा राजनीतिक आग्रह पूर्वाग्रह नराख्न आग्रह गर्नुभयो । योग्य मान्छेलाई सामाजिक क्षेत्रका जिम्मेवारी दिन उहाँले सुझाव दिनुभयो । अहिले गठबन्धनले क्षमता हेरेर नभई गठबन्धने हो कि होइन भनेर जिम्मेवारी दिने गरेको आरोप लगाउनुभयो । ओलीले मुख्य रूपमा कृषिलाई आधुनिकीकरण गरेर नै समृद्ध नेपाल बनाउन सकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्