काठमाडौं, १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सामान्य मूल्य मान्यतामा पनि चल्न नसकेको बताउनुभएको छ । बैङ्क, बिमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट सरकार भएको बताउनुभएको हो ।
‘ यो सरकार काम नलाग्ने, अलोकतान्त्रिक र भ्रष्ट सरकार हो’, ओलीले भन्नुभयो । गठबन्धन सरकारले देशमा बेथिति निम्त्याएको उहाँको कथन थियो । ‘यो सरकार कानुन अनुसार चल्ने, कानुनी मूल्य, मान्यता अनुसार चल्ने सरकार होइन, गैरकानुनी बेथितिसँग चल्ने सरकार हो, यसका दृष्टान्त जति दिए पनि कम हुन्छन्’, ओलीले भन्नुभयो ।
गठबन्धनको कारण देश बरबाद नै भइसकेकोमा उहाँको चिन्ता थियो । अहिलेको सरकारका कारण देशको राजनीति, अर्थतन्त्र, सामाजिक, सांस्कृतिक अवस्था सबै खराब भएको अध्यक्ष ओलीले दृष्टान्त प्रस्तुत गर्नुभयो । अध्यक्ष ओलीले वित्तीय संस्थाले निर्मम साहुले जस्तो व्यवहार गर्न नहुने बताउनुभयो । बैङ्क तथा वित्तीय संस्थाहरूको पनि सामाजिक उत्तरदायित्व हुने ओलीले प्रष्ट पार्नुभयो।
प्रतिक्रिया दिनुहोस्