जनता टाइम्स

२१ माघ २०८०, आईतवार ००:२९

एकै जिल्लामा एकै दिन चार बलात्कार, १५ बर्षीया किशोरीदेखि ६८ बर्षीया बृद्धासम्म बने शिकार


बर्दिया, माघ २१। बर्दियामा एकै जिल्लामा १५ बर्षीया किशोरीदेखि ६८ बर्षीया बृद्धासम्म बलात्कारको शिकार बनेका छन । बर्दिया प्रहरीले शनिवार चार वटा बलात्कारको उजुरीको आधारमा चार जनालाई पक्राउ गरेको छ ।

बर्दिया जिल्लाको राजापुर नगरपालिका–८ की १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सोही नपा–६ का करिब १५ वर्षीय किशोर पक्राउ परेका छन् ।

उनले किशोरीलाई ललाइफकाई नेपालगन्जस्थित आफ्नो दाजु नाता पर्नेको घरमा लगेर पटक–पटक बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी तुलसीराम अर्यालले बताउनु भयो । अर्यालका अनुसार किशोरमाथि अनुसन्धान भइरहेको छ ।

यसैगरी बर्दियाकै बारबर्दिया नपा–११ का ३० वर्षीय युवाले स्थानीय ६८ वर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको डीएसपी अर्यालले जानकारी दिनुभयो । यस्तै बढैयाताल गापा–६ का ७२ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा ४५ वर्षीय पुरुष पनि पक्राउ परेका छन् ।

त्यस्तै गुलरिया नपा–४ का १५ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणीको आरोपमा ५० वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ परेकाविरुद्ध आवश्यक अनुसन्धान भइरहेको डीएसपी अर्यालले बताउनु भयो ।