काठमाडौं, माघ २१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी अर्जुन चन्द ठकुरीले राजीनामा दिनुभएको छ । ठकुरीले केही दिनअघि प्रहरी प्रधान कार्यालयमा राजीनामा पत्र बुझाउनु भएको हो ।
ठकुरीले व्यक्तिगत कारणले राजीनामा दिएको उल्लेख गर्नुभएको छ । प्रहरी प्रधान कार्यालयले भने औपचारिक रुपमा राजीनामाको बिषयमा कुनै जानकारी दिएको छैन ।
चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाउनु भएको थियो । चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुनुहुन्छ । राजीनामा नदिएको अवस्थामा चन्द ३० वर्षे सेवा अवधि कायम रहँदा २०८१ चैतसम्म प्रहरी सेवामा रहनुहुन्थ्यो ।
बिमानस्थलमा अध्यागमन कार्यालय प्रमुखमाथि नै प्रहरीले कुटपिट गरेको बिषयमा छानविन चलिरहँदा प्रहरी प्रमुखको राजीनामा आएको हो । गत साता बिमानस्थलमा कार्यरत प्रहरीले अध्यागमन अधिकृतमाथि कुटपिट भएको बिषयमा अध्यागमन प्रमुख गोगन हमालले प्रश्न गर्दा उहाँमाथि पनि प्रहरीले कुटपिट गरेको थियो ।
छानविनका समितिले गरेको सिफारसप्रति डिआइजी चन्द असन्तुष्ट रहेको विमानस्थल स्रोतले बतायो । समितिले विवादमा संलग्न असई प्रकाश चौधरीलाई निलम्बन र डिएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गरेको थियो।
तर, चन्दले आन्तरिक बैठकमा कुटपिटमा संलग्न प्रहरी कर्मचारीले गलत नगरेको बताउँदै आउनु भएको थियो ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको बिशेष रोजाइमा परेर बिमानस्थल जानुभएका ठकुरी गृह नेतृत्वकै कानूनबिपरित काम गर्नका लागि दिइएको अनावश्यक दवावपछि राजीनामाको निर्णयमा पुग्नुभएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्