जनता टाइम्स

२२ माघ २०८०, सोमबार ०७:३४

झलनाथसँग निकै रुष्ट देखिए माधव


काठमाडौं, माघ २२ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सम्मानित नेता झलनाथ खनालप्रति निकै रुष्ट रहेको तथ्य खुलेको छ । पार्टीभित्र खनालले काउन्टर दिइरहनु भएको कारण अध्यक्ष नेपाल रुष्ट बन्नुभएको पाइएको हो ।

अध्यक्ष नेपालले सार्वजनिक रुपमै झलनाथको नाम नलिई आक्रोश पोख्नुभएपछि नेकपा एकीकृत समाजवादीमा दुई नेताबीच निकै बिवाद रहेको तथ्य पनि उजागर भएको छ । नेपालले खनालमाथि जनताको बहुदलीय जनवाद (जबज) बिरुद्ध साम्राज्यवादीको गोटी बनेर लागेको आरोप खनालमाथि लगाउनु भएको छ ।

पार्टी उपाध्यक्ष तथा कृषि मन्त्री डा. बेदुराम भुसालद्वारा लिखित ‘जनताको बहुदलीय जनवादको विकासक्रम’ नामक पुस्तक विमोचन गर्दै नेपालले जबजलाई समाप्त पार्ने विचार स्वीकार्न नसकिने भन्दै खनाललाई चेतावनी दिनुभयो ।

नेपालले खनालमाथि जवज सकाउन लागेको आरोप लगाउनुभयो । पार्टीका सम्मानित नेता झलनाथ खनाल जबज छाड्नुपर्ने बताउँदै आइरहनु भएको छ । त्यसप्रति लक्षित गर्दै नेपालले भन्नुभयो, ‘विचार नै परिवर्तन गरेर हिजो जबजलाई दक्षप्रजापतिको टाउको भन्ने, आज यसलाई समाप्त पार्ने लाग्ने विचारलाई किमार्थ ठीक भन्न सकिँदैन, स्वीकार गर्न सकिन्न ।’