पोखरा, माघ २२ । पोखराको सूर्यदर्शन सहकारीका वचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनसहित १८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन ।
सहकारी पीडितहरुले रास्वपा सभापति लामिछाने, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहनु भएका अखिल क्रान्तिकारीका महासचिव दिपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा ग्रुप इन्भेस्टेन्ट, गोर्खा आयुर्वेद प्रालिलगायतलाई विपक्षी बनाएर सोमवार उजुरी दिएका हुन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले सहकारी पीडित पक्षले ‘पूरक’ जाहेरी दिएको बताउनु भयो । उक्त विषयमा पहिल्यै दर्ता भएर अनुसन्धान जारी रहेकाले अहिले नयाँ जाहेरी दर्ता गर्नुनपर्ने उहाँको भनाई छ ।
सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेल कास्की जिल्ला अदालतको आदेशमा हाल पुर्पक्षका लागि थुनामा छन् । यो मामिलामा उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्य शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पनि पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जनाएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबी राईसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्ये १५ जना फरार छन् ।
सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको जाहेरीमा उल्लेख छ । उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।
सूर्यदर्शनबाट जीबी राई समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ । सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्