जनता टाइम्स

२५ माघ २०८०, बिहीबार २१:४४

बालेनमाथि लाग्यो निकै गम्भीर आरोप


काठमाडौं, माघ २५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) माथि निकै गम्भीर आरोप लागेको छ । शान्तिबाटिकामा धर्ना तथा विरोध प्रदर्शनमा रोक लगाएपछि मेयर शाहमाथि नै गम्भीर आरोप लगाउँदै पीडितहरू महानगरपालिकाविरुद्ध नै आन्दोलित भएका हुन ।

शान्ति बाटिकामा विभिन्न माग तथा मुद्दा लिएर पीडितहरूको छुट्टाछुट्टै समूह धर्ना बस्दै आएका छन । गत सोमबार काठमाडौं महानगरपालिकाले शान्तिबाटिकामा धर्नारत पीडितहरुलाई हटाएसँगै पीडितहरू महानगरपालिकाविरुद्ध आन्दोलित भएका हुन । बिहीबार शान्तिबाटिकामा पीडितहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै आफूहरुलाई महानगरपालिकाले ज्यादती गरेको र मेयर बालेन हिटलरका रुपमा पतन भएको आरोप लगाए ।

शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न पाउने र आफ्ना कुरा राख्न पाउने संविधान प्रदत्त अधिकारमाथि महानगरपालिकाका मेयर शाहले हिटलरको रुप धारणा गरी हस्तक्षेप गरेको उनीहरूको भनाई छ । पीडितहरुले बालेनलाई जवाफ दिन शान्तिबाटिकामा आफूहरुको धर्ना जारी रहने घोषणा पनि पत्रकार सम्मेलनमा गरेका छन ।

२३८ दिनदेखि आरती साहको न्यायको लागि भन्दै धर्नामा बसेका आरती साहको दाजु प्रेम साहले आफूहरु हत्यारा, प्रहरी र सरकारबाट मात्रै नभई काठमाडौं महानगरपालिका मेयर बालेन साहबाट पनि पीडित भएको आरोप लगाउनु भयो । उहाँले मेयर साहले गरिबहरूमाथि दमन र अत्याचार गरेको भन्दै आँसुले पोल्ने बताउनु भयो ।

शान्ति बाटिका मेयर साह र काठमाडौं महानगरपालिकाको मात्रै सम्पत्ति नभएको भन्दै मेयरले तानासाही व्यवहार देखाएको उहाँको भनाइ थियो । उहाँले मेयर साहलाई हिटलरको रुप त्याग्न आग्रह समेत गर्नुभयो । त्यस्तै, मिटरब्याज तथा ठगीविरुद्ध किसान, मजदुर संघर्ष समिति उपत्यका सदस्य मुना केसीले गत सोमबार धर्नारत महिला तथा बालबालिकाहरुलाई नगर प्रहरीले जबर्जस्ती शान्तिबाटिकाबाट निकालेर ज्यादती गरेको बताउनु भएको छ ।

केसीले महिलामाथि ज्यादती गर्ने मेयर र नगर प्रहरीलाई राज्यले कारबाही गर्नुपर्ने माग गर्नुभयो । त्यसैगरी विगत २५ दिनदेखि धर्नारत न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीले आफूलाई न्यायालयले मर्न बाध्य बनाएको र मेयर शाहले पनि सोही काम गरेको बताउनु भयो ।