जनता टाइम्स

२६ माघ २०८०, शुक्रबार १८:३२

जाँचबुझ आयोगले यात्रायातमन्त्री प्रकाश ज्वालासँग लियो बयान


काठमाडौं, माघ २६ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग बालकुमारी घटनामा जाँचबुझ समितिले बयान लिएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले केही दिनअघि यातायात मन्त्री ज्वालासँग बयान लिएको हो । सिंहदरबारस्थित गृह मन्त्रालयको पुरानो भवनमा रहेको आयोगको कार्यालयमा पुगेर उहाँले बयान दिनुभएको हो ।

विद्यार्थीहरुको प्रदर्शन चलिरहेका बेला मन्त्री ज्वाला बालकुमारीमा पुग्दा प्रदर्शनकारीले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए ।त्यसक्रममा ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडी पूर्णतः जलेको थियो । मन्त्रीको गाडी देखेपछि प्रदर्शनकारी थप आक्रोशित बनेको निश्कर्षमा छानबिन समिति पुगेको छ ।

प्रहरी महानिरीक्षक बसन्त कुँवरले यसअघि नै संसद्को कानून, न्याय तथा मानवअधिकार समितिमा मन्त्री ज्वाला त्यहाँ नपुगेको भए परिस्थिति अर्कै हुनसक्ने तथ्य यसअघि नै सार्वजनिक गरिसक्नु भएको छ । यसमा ज्वालाको सुरक्षामा खटिएका निजी सुरक्षा अधिकृतको कमजोरी देखिएको भन्दै उनको सरुवा समेत गरिएको थियो ।

गत पुस १३ गते भएको घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । यही प्रकरणलाई लिएर ललितपुरका तत्कालीन एसएसपी सिद्धिविक्रम शाह र प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको जिम्मेवारी पनि खोसिएको थियो । पुस १६ गते बसेको बैठकले बालकुमारी घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा समिति बनाएको थियो । समितिमा प्रहरीका पूर्वएआईजी अरुण बिसी र गृह मन्त्रालयका सह–सचिव नारायणप्रसाद भट्टराई सदस्य हुनुहुन्छ ।

आयोगलाई घटनामा भएको मानवीय, भौतिक लगायत क्षतिको विवरणको अध्ययन र विश्लेषण गर्ने जिम्मेवारी छ । घटनाको कारण, सुरक्षा प्रबन्ध र सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने जिम्मा पनि आयोगलाई दिइएको छ ।

बयानको क्रममा जाँचबुँझ आयोगले मन्त्री ज्वालासँग बालकुमारी घटनामा तपाईकै कारण भएको किन नभन्ने भन्दै प्रश्न समेत सोधेको स्रोतले बताएको छ ।