काठमाडौं, फागुन २ । नेकपा माओवादी केन्द्रमा पार्टीकै नाम फेर्न प्रस्ताव आएको छ । अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट उपमहासचिव जनार्दन शर्माले यस्तो प्रस्ताव गर्नुभएको हो ।
उहाँले माओवादी नाम कायम रहिरहे काठमाडौंलगायत सहरी क्षेत्रमा पार्टीको संगठन सकिने ठहरसहित दाहालले यस्तो निश्कर्ष पनि सुनाउनु भएको छ । मंगलबारदेखि सुरू भएको पहिलो विधान अधिवेशनमा उपमहासचिव शर्माले ८ बुँदे पुरक प्रस्ताव पेश गर्दै पार्टी ठूलो बनाउनका लागि नाम फेर्न प्रस्ताव गर्नुभएको हो ।
शर्माले पार्टीको नाम परिवर्तन गरेर नेकपा समाजवादी राख्नुपर्ने प्रस्ताव गर्नुभएको छ । शर्माले प्रस्तावको औचित्य औंल्याउँदै भन्नुभएको छ, ‘रूकुम, रोल्पा, कर्णाली, गोरखाको आँखाले हेर्दा नाम सही छ तर सबैभन्दा ठूलो जनसंख्या भएको काठमाडौंलगायत सहरी क्षेत्रमा पार्टी विस्तार गर्न आवश्यक भएकाले नाम परिवर्तन गर्न जरूरी छ ।
यसअघि गत माघ २८ गते बसेको केन्द्रीय कमिटी बैठकमा पनि उपमहासचिव शर्माले पशुपतिमा पूजारी फेर्ने लगायतका गतिविधिका कारण काठमाडौं उपत्यकामा माओवादी लोकप्रिय हुन नसकेको बताउनु भएको थियो । २०६५ सालमा पहिलो पटक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका बेला पशुपतिको मुलभट्ट फेर्ने निर्णय भएको थियो । भारतीय मुलभट्ट हटाएर नेपाली पुजारी राख्न खोज्दा विरोध भएपछि सरकार पछि हटनुपरेको थियो ।
८ बुँदे पुरक प्रस्ताव पेश गरेका शर्माले सबै तहका कमिटी र पदाधिकारीहरू महाधिवेशन एवं सम्मेलनहरूबाट निर्वाचित हुनुपर्ने अडान पनि राख्नुभएको छ । प्रस्तावित विधानमा भने ५१ प्रतिशत प्रत्यक्ष र ४९ प्रतिशत समानुपातिक प्रणालीबाट पार्टी कमिटी चयन गर्ने उल्लेख छ ।
यस्तै शर्माले राखेको पुरक प्रस्तावमा संघ प्रदेश र स्थानीय तहमा निर्वाचित हुने उम्मेदवार छनौट गर्न सम्बन्धित चुनाव क्षेत्रका संगठित सदस्यको मतबाट टुंगो लगाएर सम्बन्धित तहको पार्टीले अनुमोदन गर्ने व्यवस्था राख्नुपर्ने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्