जनता टाइम्स

२ फाल्गुन २०८०, बुधबार १९:२१

एमाले धादिङ अधिवेशन : प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा उत्रिए त्रिपाठी र अधिकारी


धादिङ, फागुन २ । नेकपा एमाले धादिङ जिल्लाको अधिवेशनमा प्यानल बनाएर चुनावी प्रतिस्पर्धा अघि बढेको छ । बिवाद भई रोकिएको अधिवेशनको बन्दशत्र मंगलवारबाट सञ्चालन भई आजबाट नेतृत्व चयनको काम अघि बढेको हो ।

अधिवेशन मंगलबार अपराह्न १२ बजेबाट सुरू भएको थियो । आगामी नेतृत्वका लागि निवर्तमान अध्यक्ष भूमि त्रिपाठी र डा. रामकुमार अधिकारी समूह बनाएरै मैदानमा उत्रनुभएको छ ।

त्रिपाठी समूहबाट उपाध्यक्षमा अर्जुन श्रेष्ठ गोरखाली र सचिवमा राधिका सापकोटा उम्मेदवार बन्नुभएको छ । यस्तै त्रिपाठी समूहबाट खुला उपसचिवतर्फ भक्तबहादुर लामिछाने र महिलातर्फ उर्मिला रेग्मी रूपाखेती रहनुभएको छ।

यसैगरी अधिकारी समूहबाट उपाध्यक्षमा रामकुमार आचार्य, सचिवमा हरिराम लोहनी, खुला उपसचिवमा दीपक खतिवडा र महिला उपसचिवमा खुपीकुमारी तामाङ उम्मेदवार बन्नुभएको छ ।

एमाले धादिङको नवौं अधिवेशन माघ २१ गतेबाट सुरू भएको थियो । तर, माघ २२ गते अध्यक्ष मण्डल र प्रतिनिधि मनोनीतमा विवाद भएको थियो। माघ २२ गते कुटाकुट भएपछि केन्द्रीय संगठन विभागले हस्तक्षेप गरेको थियो।

संगठन विभागले प्रतिनिधि विवाद निरूपण गरिदिएको थियो । त्रिपाठी र अधिकारी समूहबीच पाँच प्रतिशत प्रतिनिधि मनोनीतमा विवाद भएपछि संगठन विभागले यसको निकास खोजेको हो ।

एमालेले दार्चुला, मुगु, दोलखा, महोत्तरी, रौतहट, बाजुरा, म्याग्दी जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ । दोलखा, महोत्तरी र रौटहटमा चुनावमार्फत नेतृत्व चयन भइसकेको छ ।