जनता टाइम्स

२ फाल्गुन २०८०, बुधबार १९:५७

युक्रेनसँगको युद्धमा मारिएका नेपालीलाई सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति दिन रुस सहमत


काठमाडौं, फागुन २ । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएका नेपाली नागरिकलाई नेपालकै सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति उपलब्ध गराउन रुस सहमत भएको छ । नेपालको प्रस्तावअनुसार क्षतीपुर्ति दिन रुस सहमत भएको हो ।

यसअघि रुसले पीडित परिवारलाई क्षतिपुर्ति दिने, तर उनका परिवार नै रुस जानुपर्ने अडान राखेको थियो । तर नेपाल सरकारले मस्कोस्थित दूतावासमार्फत नेपालकै सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने प्रस्ताव गरेको थियो ।

नेपालको सो प्रस्तावमा रुसले सहमति जनाएको हो । रुस–युक्रेन युद्धमा परी हालसम्म १२ जना नेपालीको ज्यान गइसकेको छ । यस्तै मृत्यु भएको एकीन संख्इासहित भर्ना भएका संख्या र घाइतेबारे आधिकारिक तथ्यांक अहिलेसम्म पाउन सकेको छैन । मस्कोमा रहेको नेपाली दूतावासलाई पनि सार्वजनिक रुपमा आएका सुचना र तथ्यांकबाहेक केही सुचना उपलब्ध छैन ।

मृत्यु हुनेको सवालमा नेपाली संयन्त्रमार्फत नै क्षमिपूर्ति उपलब्ध गराउन रुस सहमत भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव अमृतकुमार राईका अनुसार रुसले सुरुवातमा क्षतिपूर्तिको लागि सम्बन्धित व्यक्तिहरुको परिवारलाई मस्को नै आउनु पर्ने बताएको थियो ।

तर नेपाल सरकारले अन्य मुलुकबाट नेपालीहरुलाई क्षतिपूर्ति उपलब्ध गराउँदा जस्तै गरी रुसमा रहेको दूतावासमार्फत नै नेपाली परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सक्ने विषयमा नेपालले रुससँग कुरा राखेको थियो । त्यसपछि सोही प्रक्रियाबाट राहत उपलब्ध गराउन रुस सरकार तय भएको हो ।

योसँगै अब रुसले मस्कोस्थित नेपाली दूतावासलाई क्षतिपूर्ति दिनेछ । सो क्षतीपुर्ति परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धी जिल्ला प्रशासन कार्यालयमार्फत परिवारका सदस्यहरुलाई दिइने छ।