जनता टाइम्स

३ फाल्गुन २०८०, बिहीबार ०२:००

एसपीको सरुवालगत्तै मध्यराती रिहा भए दुई पत्रकार


महेन्द्रनगर, फागुन ३ । जिल्ला प्रहरी प्रमुखको सरुवा भएसँगै कञ्चनपुर प्रहरीले विद्युतीय अपराध सम्बन्धी मुद्दा चलाएर समातेका २ पत्रकार रिहा भएका छन । पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई आज मध्यरातमा थुनामुक्त गरिएको हो ।

पत्रकारद्वयका अधिवक्ता बिनोद भट्टले दुवै जना रिहा भएको बताउनु भयो । यसअघि मंगलवार र आज (बुधबार) समेत पक्राउ परेका ४ जना पनि बुधवार नै रिहा भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दका अनुसार आज समातिएका माओवादी केन्द्रका प्रदेश सदस्यसमेत रहेका भीमदत्त नगरपालिका–१८ का चन्द्रकान्त भट्ट (सिके), अर्का स्थानीय पुस्कर भट्ट, पूर्व प्रहरी हवल्दार भीमदत्त नगरपालिक–१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका–१६ का दशरथ धानुक पनि रिहा हुनुभएको छ ।

अनुसन्धानका बखत हिरासतमा राखि राख्न उपयुक्त नदेखिएकाले जिम्मा जमानीमा छोडिएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार गृहमन्त्रालय सहितको दबाबले माओवादी नेतालाई २४ घण्टासमेत हिरासतमा नराखी छोडिएको हो । सोही मुद्दामा शनिवार समातिएका पत्रकारद्वयलाई पनि प्रहरीले दोस्रो दिन ७ दिनका लागि म्याद थप गरेर हिरासतमै राखेकोमा आज छोडेको हो।

यस अगाडी नै पत्रकारका विभिन्न पेसागत संगठन र महासंघले कञ्चनपुर प्रहरीको उक्त कदमको विरोध गर्दै प्रतिशोध साधेको बताएका थिए।
केही दिन अगाडी कञ्चनपुर प्रहरीले एक महिला प्रहरी निरीक्षकविरुद्ध फेसबुकमा स्टाटस र कमेन्ट लेखेको भन्दै साइबर अपराधमा मुद्दा चलाएर उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो ।

सो मुद्दामा आजसम्म ६ जना पक्राउ परेकोमा सबै छुटेका छन । कञ्चनपुरका एसपी कमल थापाको सरुवापछि उनीहरुरिहा भएका हुन । कञ्चनपुरमा थापालाई सरुवा गरी एसपी चक्रराज जोशीलाई पठाउने निर्णय प्रहरी प्रधान कार्यालयले गरेको छ ।