जनता टाइम्स

३ फाल्गुन २०८०, बिहीबार १२:४१

कपिलबस्तु बस दुर्घटनामा ज्यान गुमाएका १० जनाकै सनाखत, एकै पालिकाका ६ जनाको मृत्यू


कपिलबस्तु, फागुन ३ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ स्थित सुरही पुल नजिकै गएराती भएको बस दुर्घटनामा परी ज्यान गुमाएका दश जनाकै सनाखत भएको छ ।

प्रहरीका अनुसार मृतकमध्ये ७ पुरुष र ३ महिला रहेका छन । प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यू हुनेमा रौतहट औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका–१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका छन ।

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ की सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कञ्चनपुर पुनर्वाससकी विमलादेवी भट्ट, भीमदत्त–२ का सुदीप भट्ट र भीमदत्त–९ का बिसनदत्त भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २ सय मिटर तल खसेर गएराती दुर्घटना भएको हो । सो दुर्घटनामा ३० जना घाइते भएका छन । घाइतेमध्ये ९ जनाको बुटवल र अन्यको कपिलवस्तुकै अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।