काठमाडौं, फागुन ४ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले ऐतिहासिक फैसला गरेको भन्दै न्यायाधीशहरुलाई धन्यवाद दिनुभएको छ ।
बिशेष अदालतले सत्तारुढ गठबन्धनमा आवद्ध मुख्य दोषि भनिएका नेताजति सवैलाई सफाइ दिएर कर्मचारी र बिचौलियालाई मात्र दोषी ठहर गरेपछि गृहमन्त्री श्रेष्ठले धन्यवाद दिनुभएको हो ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा कांग्रेस नेता एवं तात्कालिन उपप्रधानमन्त्री बिजयकुमार गच्छद्धारसहितका राजनीतिक नेतृत्व मुख्य जिम्मेवार रहेपनि अदालतले सफाई दिएको छ ।
विहीबार विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा व्यक्ति र संस्थाका नाममा रहेका जग्गा सरकारको हुने फैसला गरेको थियो । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्व सचिव छविराज पन्तसहित ८० जनाभन्दा बढीलाई दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला पनि गरेको छ ।
विशेष अदालतको यो फैसलालाई गृहमन्त्री श्रेष्ठले ऐतिहासिक भन्नुभएको छ । ‘अन्ततः ललिता निवासको सरकारी जग्गा सरकारको नाममा आयो । सबै नेपाली जनतालाई बधाई छ,’ गृहमन्त्री श्रेष्ठले सामाजिक सन्जालमा लेख्नुभएको छ, ‘जालसाँजी, किर्ते, ठगी र भ्रष्टाचारद्वारा राज्य लुट्ने कार्य र प्रक्रियाविरुद्ध विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गर्यो । विशेष अदालत र न्यायाधीशहरुप्रति हार्दिक आभार र धन्यवाद ।’ गृहमन्त्री श्रेष्ठको यो भनाई सत्ता गठबन्धनको नेतालाई चोख्याएकोमा खुसीयाली छाएको अर्थमा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्