जनता टाइम्स

४ फाल्गुन २०८०, शुक्रबार १८:०४

कांग्रेस केन्द्रीय समितिमा प्रवेश गर्यो हिन्दू राष्ट्रको प्रस्ताव, २२ केन्द्रीय सदस्यको हस्ताक्षर (पूर्णपाठ)


काठमाडौं, फागुन ४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा औपचारिक रुपा हिन्दू राष्ट्रको पक्षमा औपचारिक प्रस्ताव दर्ता भएको छ ।

केन्द्रीय कार्यसमितिको जारी बैठकमा २२ जना केन्द्रीय सदस्यले सनातन हिन्दू राष्ट्रलाई महासमिति बैठकको एजेण्डा बनाउन मागसहित लिखित प्रस्ताव दर्ता गरेका हुन ।

यही फागुन ७ गतेदेखि सुरु हुने महासमिति बैठकको एजेण्डा तय गर्न बिहीबारदेखि कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेको छ । बैठकमा तीन वटा दस्तावेज पेश भएका छन । सो प्रस्तावमा असहमती जनाउँदै २२ जना केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई महासमिति बैठकमा छलफल गरेर सनानत हिन्दु राष्ट्रको पक्षमा उभिनुपर्ने पूरक प्रस्ताव बुझाएका हुन ।

केन्द्रीय कार्य समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा हिन्दूराष्ट्रको एजेण्डा समावेश नभएकोमा उनीहरुले आपत्तिसमेत जनाएका छन । कांग्रेस बैठक चलिरहेकै बेला शनिबार सानातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियान घोषणाको तयारीमा रहेका भन्दै उनीहरुले महासमिति बैठकबाट कांग्रेस वैदिक सनातन हिन्दु धर्मको पक्षमा उभिनुपर्ने माग गरेका हुन ।

‘..तपशीलका केन्द्रीय कार्य समितिका सदस्यहरुले महासमितिको बैठकबाट छलफल गरेर सनातन हिन्दुराष्ट्रको पक्षमा नेपाली कांग्रेस दृढतापूर्वक उभिन यो कार्यसमिति बैठकमा पूरक प्रस्तावको रुपमा वैदिक सनातन हिन्दू धर्मको पक्षमा यो प्रस्ताव पेश गरेका छौं’, सभापतिलाई बुझाइएको प्रस्तावमा भनिएको छ ।

यसरी प्रस्ताव बुझाउने केन्द्रीय सदस्यहरुमा शंकर भण्डारी, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, पुष्पा भुसाल, भीम पराजुली, प्रकाश रसाइली स्नेही, शुक्रराज शर्मा, रंगमती शाही, बिद्या तिमल्निा, गेहेन्द्र गिरी, सीता देवकोटा, नृपबहादुर बड, दिनेश कोइरालालगायत २२ जना हुनुहुन्छ ।