जनता टाइम्स

४ फाल्गुन २०८०, शुक्रबार १८:२७

एमालेकै पहलमा शान्ति प्रक्रिया टुंगोमा पुग्ने चरणमा छ : केपी ओली


काठमाडौं, फागुन ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेकै पहलमा शान्ति प्रक्रिया टुंगोमा पुग्ने प्रष्ट पार्नुभएको छ । शुक्रबार आयोजित विश्व सामाजिक मञ्चको अन्तरक्रियामा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले यस्तो जनाउ दिनुभएको हो ।

अध्यक्ष ओलीले एमालेको पहलमा शान्ति प्रक्रिया टुंगोमा पुग्ने चरणमा रहेको प्रष्ट पार्नुभयो । ‘शान्ति प्रक्रिया चाँडो टुंग्याउनु पर्छ भन्ने एमालेको प्रष्ट मान्यता रहेको छ, एमालेकै पहलमा शान्ति प्रक्रिया टुंगोमा पुग्ने चरणमा रहेको छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले अहिलेको संविधानमा सामाजिक न्यायसहितको अधिकार स्थापित गरिएको भन्दै यसलाई सबै मिलेर कार्यान्वयन गर्ने जानकारी पनि दिनुभयो । एमाले सरकारमा रहँदा सामाजिक न्यायसहितको आर्थिक विकासमा जोड दिएको र त्यसका लागि आवश्यक पूर्वाधार बनाएको अध्यक्ष ओलीले बताउनुभयो ।

महिला अधिकार, शिक्षा, स्वच्छ खानेपानी र स्वास्थ्य बीमासहित सामाजिक सुरक्षाका क्षेत्रमा एमाले सरकारले धेरै काम गरेको उहाँको भनाई छ । अध्यक्ष ओलीले समृद्ध नेपाल : सुखी नेपालीको लक्ष्यलाई पूरा गर्नका लागि प्रतिबद्ध रहेको पुनः दोहोर्याउनु भयो ।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नु नै समाजवाद भएको भन्दै उहाँले समाजवादले नै मुलुकलाई अघि बढाउन सक्ने र सबै प्रकारका विभेद अन्त्य गर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले सामाजिक न्यायका आधारमा परराष्ट्र नीति र पारस्पारिक लाभका आधारमा सम्बन्धलाई अघि बढाउनु पर्ने धारणा राख्नुभयो ।राष्ट्रिय हित, पारस्परिक लाभ, सम्मान र सामाजिक न्यायमा आधारित परराष्ट्र नीतिको पक्षमा आफ्नो पार्टी दृढ रहेको उहाँले प्रष्ट पार्नुभयो ।