कास्की, फागुन ५ । सत्तारुढ नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ (नेबिसंघ) का नेता दुई नम्बरी कारोवारमा संलग्नता भएको आरोपमा पक्राउ परेका छन ।
प्रहरीले सरकारी छाप दुरुपयोग गरेको अभियोगमा नेविसंघका केन्द्रीय सदस्यसहित तीन जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा १९ पुरुन्चौर घर भई हाल नयाँबजार बस्ने २८ वर्षीय सतिश बास्तोलासहित पोखरा चिप्लेढुंगा बस्ने वर्ष २५ का सुजन गिरी र वर्ष २९ का विवेक श्रेष्ठलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये बास्तोला नेविसंघका केन्द्रीय सदस्य हुन । वडा प्रहरी कार्यालय बैदाम र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरको थियो ।
कास्की प्रहरीका अनुसार उनीहरूले पोखरा नयाँबजारस्थित ब्लुहोम डेकोरबाट विभिन्न संघसंस्था, सरकारी र वडा कार्यालयका छाप तथा जरायोको सिङसमेत लुकाइछिपाइ राखेको अवस्थामा पक्राउ गरिएको हो ।
साथै छाप बनाउन प्रयोग गरिएको मेसिन, मनिटरसहितको कम्प्युटरसमेत बरामद गरिएको छ । उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा १० दिन म्याद लिएर थप अनुसन्धान अघि बढाइएको छ ।













प्रतिक्रिया दिनुहोस्