जनता टाइम्स

५ फाल्गुन २०८०, शनिबार १०:१८

यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गरी कानूनी कारबाही अघि बढाउन प्रधानमन्त्रीलाई एमालेको अल्टिमेटम


नेकपा एमालेले जाँचबुझ आयोगले दोषी किटान गरेको ब्यक्ति पदमा रहिरहन नमिल्ने भन्दै यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गरी कानूनी कारबाही अघि बढाउन प्रधानमन्त्रीलाई २४ घण्टे अल्टिमेटम दिएको छ 

काठमाडौं, फागुन ५ । नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्त गरेर कानूनी कारबाही गर्न माग गरेको छ ।

दुई युवकको ज्यान जाने गरी भएको ललितपुरको बालकुमारी घटनामा प्रमुख दोषी नै मन्त्री ज्वाला भएको निष्कर्षसहित जाँचबुझ आयोगले शुक्रबार सरकारलाई प्रतिवेदन बुझाएपछि एमालेले यस्तो बटमलाइन सुनाएको हो । एमालेले दोषी किटान भएका मन्त्री ज्वाला जिम्मेवारीमा बसिरहने छुट नभएको भन्दै बर्खास्तीको माग गरेको हो ।

नेकपा एमालेका सचेतक महेश बर्तौलाले ज्वालालाई तत्काल मन्त्री पदबाट बखास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको हो । सचेतक बर्तौलाले मन्त्रीकै गम्भीर कमजोरी र लापरबाहीको कारण दुखद घटना भएको सरकारी आयोगले नै निष्कर्ष निकालेपछि एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बस्ने छुट नभएको एमालेको बटमलाइन प्रष्ट पार्नुभएको छ ।

‘एक महिना पहिले दुई जना युवाको मृत्यु हुने गरि बालकुमारीमा भएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको छ। मन्त्रीकै गम्भीर कमजोरी र लापरवाहीको कारण उक्त दुखद घटना भएको सरकारी आयोगले नै निष्कर्ष निकालिसकेको अवस्थामा उहाँलाई एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट छैन, तत्काल उहाँलाइ मन्त्री पदबाट बरखास्त गरिनुपर्छ र प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाइनुपर्छ,’ बर्तौलाले भन्नुभयो ।

उहाँले दोषी मन्त्रीलाई चाँहि उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीहरूलाई मात्रै कारबाहीको दायरामा ल्याउँदा न्याय नहुने बताउनु भयो । ‘यदि यति ठूलो घटनाको मुख्य दोषी मन्त्रीलाई चाँही उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीहरूलाई मात्रै कारबाहीको दायरामाा ल्याउने प्रयत्न गरियो भने त्यो कदापी न्यायोचित र स्विकार्य हुने अवस्था रहँदैन। त्यसैले यस सन्दर्भमा अब सम्माननीय प्रधानमन्त्री स्वयम् पनि २४ घण्टे परीक्षामा पर्नुभएको छ। हेरौँ रिजल्ट कस्तो आउँदो रहेछ,’ बर्ताैलाले भन्नुभयो ।

घटनाको दिन मन्त्री ज्वालाले मन्त्रीका लागि दिइएको सरकारी सवारी चालकलाई नभई आफ्ना घरेलु सवारी चालकलाई लगेकोकाले पनि उक्त घटनामा सजगता अपनाउन नसकेको आयोगको ठहर छ । बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रबार प्रतिवेदन पेस गरेको छ ।

पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी, अछामका वीरेन्द्र शाह र महाबु, दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरुण कुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भटाराई सदस्य रहेको आयोगले पुस २० देखि काम सुरु गरेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा मन्त्री ज्वालाकै कारण बालकुमारी घटना घटेको ठहरसहित मुख्य दोषी किटानी गरिएको छ ।