जनता टाइम्स

६ फाल्गुन २०८०, आईतवार २२:२७

माधव नेपाललाई सुदुरपश्चिममा ठूलो झड्का : एमालेमै फर्किए नेकपा एस कैलालीका सवै प्रभावशाली नेता


कैलाली, फागुन ६ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजबादीका सुदुरपश्चिम प्रदेश कमिटी सदस्य खडक बम एमालेमै फर्कनु भएको छ ।

बम आज सुखडमा आयोजना गरिएको एमाले कैलाली जिल्लाको नवौं अधिबेशनमा अध्यक्ष केपी शर्मा ओलीको हातबाट खादा र अबिर लगाई एमाले प्रवेश गर्नुभएको हो ।

एमालेबाट फुटेर अर्काे पार्टी बनाउने र कांग्रेसको सेवा गर्ने कामले मुलुक र जनताको हित नहुने र कम्युनिस्ट आन्दोलन पनि सफल नबन्ने ठहरसहित एमालेमै फर्किएको बमले बताउनु भएको छ ।

बम गौरीगंगा क्षेत्रमा प्रभाब राख्ने नेता हुनुहुन्छ । प्रदेश कमिटी सदस्य बमको नेतृत्वमा जिल्लाका पदाधिकारी र सदस्यहरु पनि एमाले प्रवेश गरेका छन । प्रवेश गर्नेमा कैलालीका पदाधिकारीमा उपसचिव बखतबहादार बिष्ट हुनुहुन्छ ।

बम र बिष्टको नेतृत्वमा सो क्षेत्रका प्रभावशाली सवै नेता कार्यकर्ता एमाले फर्कनु भएको हो । नेता बमले अव माधव नेपाल र सुदुरपश्चिममा रहेका कुनैपनि नेताको भ्रममा नपरी एमाले फर्कन सवै नेता कार्यकर्तालाई अपिलसमेत गर्नुभएको छ ।

‘अव पनि माधव कमरेडको भ्रममा बसियो भने आफ्नो भवश्य बर्वाद त हुन्छ नै, देश र जनतामाथि पनि जानाजानी घात गरेको ठहर्छ, त्यसकारण नेकपा एकीकृत समाजवादीमा रहेका सवै नेता कार्यकर्ता साथीहरु एमालेमै फर्कनुपर्छ,’ बमले भन्नुभयो ।