काठमाडौं, फागुन ७ । नेपाली कांग्रेसका दुई भ्रातृ संस्थाले प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नुपर्ने समयमा प्रतिगमन गर्न खोज्नु पार्टी, जनता र मुलुककै लागि दुर्भाग्य भएको भन्दै कडा आपत्ति जनाएका छन ।
केन्द्रीय समितिका २२ जना नेताले सनातन हिन्दु राष्ट्रको प्रस्ताव दर्ता गरेपछि तीन संस्थले प्रतिगामी कदम भन्दै बिज्ञप्ति नै निकालेर आपत्ति जनाएका हुन । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ र नेपाल मुस्लिम संघले संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेसको महासमिति बैठकमा संविधान एवम् पार्टीको नीति, विचार र सिद्धान्त विपरित हुनेगरी कुनै निर्णय नगर्न ध्यानाकर्षण गराएका छन ।
‘समुन्नत नेपाल निर्माण गर्न प्राप्त भएका उपलब्धिहरुलाई कार्यान्वयन गर्नुपर्ने अवस्थामा अहिले पार्टी भित्र र बाहिर विभिन्न अभियानका नाममा संविधान र पार्टीको नीति, सिद्धान्त र विचार विपरितका गतिविधिहरु भइरहेकोमा हामी आदिवासी जनजाति तथा मुस्लिम समुदायको गम्भीर ध्यानाकर्षण भएको छ। नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएका उपलब्धिहरुलाई संस्थागत गर्नुपर्ने समयमा प्रतिगमन गर्न खोज्नु पार्टी, जनता र मुलुककै लागि दुर्भाग्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको यस ऐतिहासिक महासमिति बैठक २०८० मा संविधान एवम् पार्टीको नीति, विचार र सिद्धान्त विपरित हुनेगरी कुनै निर्णय नगर्न नेतृत्वको गम्भीर ध्यानाकर्षण गराइन्छ ।’
बिज्ञप्तिमा नेपालको संविधानमा समेटिएका लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रणालीले समुन्नत नेपाल निर्माणको लक्ष्य प्राप्तिमा पुग्न सकिने उल्लेख छ । नेपाली जनताको आन्दोलनबाट प्राप्त उपलब्धिहरु लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रणालीलाई अविछिन्न राख्दै यसको कार्यान्वयन गर्न पनि नेपाली कांग्रेसले नेतृत्व गर्नुपर्ने माग पनि गरिएको छ ।
‘नेपाली जनताको आन्दोलन र वलिदानबाट प्राप्त नेपालको संविधान निर्माण प्रक्रिया र संविधान घोषणामा नेपाली कांग्रेसले गरेको नेतृत्वप्रति हामी आदिवासी जनजाति तथा मुस्लिम समुदाय गौरवान्वित छौं । नेपालको संविधानमा समेटिएका लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रणालीले समुन्नत नेपाल निर्माणको लक्ष्य प्राप्तिमा पुग्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौं । नेपाली जनताको आन्दोलनबाट प्राप्त उपलब्धिहरु लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रणालीलाई अविछिन्न राख्दै यसको कार्यान्वयन गर्न पनि नेपाली कांग्रेसले नेतृत्व गर्नु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
संविधानको मर्म अनुसार नेपाली कांग्रेसले आफ्नो विधानमा जनसंख्याको बनौटको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व हुने व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यसले गर्दा पनि नेपाली कांग्रेस पार्टीप्रति आदिवासी जनजाति, मुस्लिम, मधेशी, दलित, थारु, अल्पसंख्यक लगायतका समुदायको आकर्षण बढेको छ तरपनि पनि समग्र महिला क्लष्टरभित्र पनि आदिवासी जनजाति तथा मुस्लिम समुदायका महिलाहरुको समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था गरिनुपर्दछ। त्यसै गरी संविधानको धारा ५६ को उपधारा ५ बमोजिम थोरै संख्यामा रहेका अल्पसंख्यक समुदायको आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक विकासको लागि स्वायत्त, विशेष र संरक्षित क्षेत्र निर्माणको लागि नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ ।’
प्रतिक्रिया दिनुहोस्