जनता टाइम्स

९ फाल्गुन २०८०, बुधबार १२:२८

स्वयम्भू घटनामा मृतक तीनै जनाको सनाखत


काठमाडौं, ९ फागुन । काठमाडौंको स्वयम्भूमा मृत फेला परेका तीन जनाको सनाखत भएको छ । आज बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा बस्ने एकै परिवारका तीन जना मृत फेला परेका हुन् । उनीहरूको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ ।

अहिले प्रहरी वृत्त स्वयम्भू, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ । कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार दुई बच्चा र एक महिला मृत फेला परेका हुन् । ओखलढुंगा घर भई उक्त घरमा डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ मृत फेला परेका छन् ।

घटनास्थलमा श्रीमान राजु घिमिरे फेला परेका छैनन् । घटनास्थलमा फेला नपरेको भन्दै प्रहरीले श्रीमानमाथि शंका गरेको छ। ‘श्रीमान घटनास्थलमा फेला परेका छैनन् । उनी शंकाको घेरामा छन् । हामीले अनुसन्धान गर्दैछौं,’ एसपी रेग्मीले भन्नुभयो। प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको छ ।