जनता टाइम्स

१० फाल्गुन २०८०, बिहीबार १५:३८

आक्रामक रूपमा उत्रियो पेशागत महासंघ – मन्त्री बस्नेत, मुख्य सचिव र ल्हारक्याल लामाको राजीनामा माग


काठमाडौं, १० फागुन । पेशागत महासंघ नेपालले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव बैकुण्ठ अर्यालको राजिनामा माग गरेको छ । महासंघको चौथौ बैठकको निर्णय सार्वजनिक गर्न आज प्रेस चौतारीको केन्द्रीय कार्यालय न्यू प्लाजामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुण्यप्रसाद ढकालले टेरामक्स प्रकरणमा स्वास्थ्यमन्त्री बस्नेत र मुख्यसचिव अर्यालको निर्णायक संलग्नता देखिएकाले दुवैले पदबाट तत्काल राजिनामा दिनुपर्ने बताउनुभयो ।

उहाँले आरोपित द्वयलाई राजिनामा दिइ अनुसन्धालाई सहयोग गर्नसमेत आग्रह गर्नुभयो । महासंघको गत माघ २८ र २९ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय समिति बैठकले टेरामक्स प्रणाली खरिद प्रकरणबारे गहन छलफल गर्दै यस्तो निष्कर्ष निकालेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । कार्यक्रममा ट्रेड युनियन माथि हस्तक्षेप गर्नसमेत सरकार लागि परेको भन्दै अध्यक्ष ढकालले आपत्ति जानाउनुभयो ।

उहाँले निजामति कर्मचारीहरुलाई उनीहरुको पेशागत हक, अधिकारबाट बञ्चित गराउन नहुने पनि उल्लेख गर्नुभयो । कर्मचारी वर्गको अहितमा सरकार लागि परेमा महासंघ सहेर नबस्ने भन्दै देशभर आन्दोलन गर्ने अवस्था आउन नदिन सरकारलाई चेतावनी दिनुभयो । कार्यक्रममा महासंघका महासचिव केदार देवकोटाले भ्रष्टाचार नेपालमा क्यान्सर जसरी फैलिएको भन्दै त्यसको निमूर्लिकरणका लागि ‘एन्टीकरप्सन मुभमेन्ट एण्ड गुड गर्भर्नेन्स क्याम्पेन’ गर्न लागिएको जानकारी दिनुभयो ।

यसैगरी बालकुमारी हत्याकाण्डका दोषि नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नैतिकताका आधारमा तत्काल राजिनामा दिनुपर्ने पनि उहाँले बताउनुभयो । त्यस्तै एनसेल प्रकरण, ललिता निवास प्रकरणमा मुछिएकालाई बचाउन सरकार लागि परेको भन्दै उहाँले कानुन कार्यान्वयन गराउनु पर्ने बताउनुभयो । नेपाल सरकारले कानुन र आस्थामा प्रहार गर्दै लुम्बिनिमा अस्थिधातु समाधिस्थ रहेको रामग्रामको जग्गा लिजमा दिएको भन्दै कोषका उपाध्यक्ष ल्हारक्याल लामाको तत्काल राजिनामा माग गर्नुभयो ।