जनता टाइम्स

११ फाल्गुन २०८०, शुक्रबार १२:४३

सत्तारुढ सांसदकै कारण स्थगित भयो संसद बैठक


काठमाडौं, फागुन ११ । प्रमुख प्रतिपक्षी दल एमाले र प्रतिपक्षी दल राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको शुक्रबारको बैठक केहीबेरका लागि स्थगित भएको छ ।

बैठक सुरु भए लगत्तै एमाले र राप्रपाका विवादित मन्त्रीहरुको राजीनामा लगायतका विषयमा प्रश्न उठाएको थियो । कांग्रेस सांसद राजेन्द्र केसीले प्रतिपक्षले नियतवस गणपुरक संख्या पुर्याउन नदिन बैठक छोडेको भन्दै कुरा उठाउपछि सुरुमै एमाले सांसदहरुले आपत्ति जनाएका थिए । त्यसपछि बोल्ने क्रममा एमाले सांसद योगेशकुमार भट्टराईले विवादित मन्त्रीहरुको राजीनामा माग्नुभयो ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले विवादमा परेका भौतिक योजनामन्त्रीको राजीनामाको कुरा उठाउँदै प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो । संक्षिप्त समयमा सांसदहरुले बोलेपछि एमाले र राप्रपाका सांसदहरुले उठेर बैठक अवरोध गरे । त्यसपछि सभामुख देवराज घिमिरे केहीबेरका लागि बैठक रोक्नुभएको छ । कांग्रेसका सांसद केसीले गणपुरक संख्या नपुर्याउन प्रतिपक्षी दलका सांसदहरूले बैठक छोडेर गएको आरोप लगाएपछि संसदमा विवाद सृजना भएको छ।

सांसद केसीले आजको बैठकमा राजनीतिक दलसम्बन्धी विधेयक पेश हुने बेलामा विपक्षी दलका सांसदहरू संसद छोडेर बाहिर गएको आरोप लगाउनु भएको थियो । विधेयक टेबुल गर्ने सत्तापक्षको मात्रै कुरा होइन। जानाजान विधेयक असफल पार्ने काम भएको छ, केसीको भनाई थियो ।

उहाँको सो आरोपलगत्तै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका छन । सत्तापक्ष र प्रतिपक्षी सांसदहरू प्रतिवादमा उत्रिएपछि संसदमा विवाद बढेको हो। त्यसपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिनुभयो।

सांसद गिरीले आफूहरूका कारण कुन विधेयक पास गर्नबाट रोकियो भन्दै प्रश्न गर्नुभयो। गिरीले सत्तापक्षका सांसदहरूले प्रतिपक्षमाथि हिलो छ्याप्ने काम भएको भन्दै आक्रोश पोख्नुभयो । उहाँले देशको सुशासनका मुद्दामा कुनै पनि हालतमा सम्झौता गर्न नसक्ने बताउनु भयो ।

रास्वपाका विराजभक्त श्रेष्ठले संसदको क्यालेण्डर अगाडी नै तय भएकाले कांग्रेसले त्यसलाई बेवास्ता गरेको बताए। त्यस्तै राप्रपा सांसद ज्ञान बहादुर शाहीले पनि संसदको क्यालेण्डर अनुसार सत्तापक्ष चल्न नसकेको बताउनु भया ।