काठमाडौं, फागुन १३ । रुसी सेनामा भर्ना भई कार्यरत रहेका नेपालीमध्ये हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
सरकारले १० जनाको मात्रै मृत्यु भएको विवरण सार्वजनिक गरे पनि परिवारजनले रुसबाटै पाएको मृत्युको सूचनाका आधारमा हालसम्म १६ जना आफन्तको काजक्रिया गरेका हुन । परिवारजनले १६ जना मृतकको सम्मानमा पशुपतिनाथ भष्मेश्वरघाटमा द्वीप प्रज्वलनसमेत गरेका छन ।
सरकारले गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान, दार्चुलाका कुन्दन सिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको मृत्यु पुष्टि गरेको छ । रुसी कूटनीतिक च्यानलबाट यो विवरण प्राप्त भएको परराष्ट्र मन्त्रालयको भनाई छ ।
यता परिवारजनको सूचनाअनुसार थप ६ जनाको मृत्यु पुष्टि भएपछि काजक्रिया नै भइसकेको छ । लमजुङका साजन गुरुङ र सन्तोष गुरुङ, धादिङका पूर्णबहादुर गुरुङ, बाँकेका सञ्जय केसी, दाङका जितबहादुर पुन र रसुवाका सुन्दर मोक्तानको पनि रुस युक्रेन युद्धमा ज्यान गएको परिवारजनले जनाएका हुन ।
मृत्यू भएकामध्ये रुसी सेनामा कार्यरत तीन जना नेपालीको रुसमै अन्तिम संस्कार भएको छ । परिवारको सहमतिमा रुसी सेनाले त्यहाँ मृत्यु भएका अन्य नेपाली नागरिकको पनि क्रमशः अन्तिम संस्कार गर्ने र नेपालमा अस्तु संकलन गरेर पठाउने जानकारी नेपाललाई दिएको छ । सरकारका अनुसार सन्दीप थपलिया, रूपक कार्की र देवान राईको अन्तिम संस्कार भएको छ । थपलिया गोरखाका हुन भने कार्की कपिलवस्तुका र राई कास्कीका स्थायी बासिन्दा हुन ।
‘अहिलेसम्म १६ जना नेपालीका परिवारजनले आफन्तजनको काजक्रिया गरिसक्नुभएको छ । तर, थप नेपालीहरूको मृत्यु भएको आशंका छ, पुष्टि हुन बाँकी छ,’ पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानकी संयोजक कृतु भण्डारीले भन्नुभयो । भण्डारीले नेपालमा पीडित परिवाजन र रुसमा कार्यरत नेपालीहरूसँग समन्वय गरिरहनु भएको छ । अभियानमा एक हजारभन्दा बढी परिवारका सदस्य जोडिएका छन ।
भण्डारीका अनुसार रुसी सेनामा कार्यरत नेपालीमध्ये घाइते एक सय १६ जना बेपत्ता वा लामो समयदेखि परिवारको सम्पर्कमा नआएका दुई सय ६० जनाभन्दा माथि रहेका छन । परिवारको सम्पर्कमा रहेकासमेत गरी पाँच सय जनाभन्दा बढी नेपाली युवा रुसी सेनामा कार्यरत रहेको देखिएको उहाँले बताउनु भयो । पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समय नदिएका भन्दै पत्रकार सम्मेलनमार्फत ज्ञापनपत्र सार्वजनिक गरेको छ ।
भण्डारीले रुसी सेनामा भर्ती हुन पुगेका नेपालीहरूलाई सुरक्षा कवचका रूपमा प्रयोग गर्ने, सेना छोड्न चाहने नेपालीलाई पक्रिएर पुनः युद्धभूमिमा फर्काउने, घाइतेको राम्रो उपचार नहुने, आदेश मान्न अटेर गरेको अभियोगमा नेपालीहरूमाथि कुटपिटलगायतका दुव्र्यवहार भइरहेको सूचना समेत आएको बताउनु भयो । अभियानले बेपत्ताको खोजी गर्न विदेशमा रहेका सम्भावित सबै नेपाली संयन्त्र परिचालन गर्ने विधि र प्रक्रिया घोषणा गरी तत्काल कार्यान्वयनमा लैजान सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्