काठमाडौं, फागुन १३ । कलेजो प्रत्यारोपणमा नेपाली चिकित्सक नेतृत्वको टोलीले दोस्रो सफलता हात पारेको छ । त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा नेपाली चिकित्सकको टिमले दोस्रो पटक सफलतापुर्वक कलेजो प्रत्यारोपण गरेको हो ।
त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीका अनुसार नेपाली चिकित्सक टिमले माघ २७ गते चितवनको ३३ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरिएको थियो । ती पुरुषलाई उनकी २८ वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन । कलेजो प्रत्यारोपण गरिएका पुरुषलाई १६औं दिन (आइतबार) डिस्चार्ज गरिएको छ भने महिला १० दिन अगाडि नै डिस्चार्ज भइसकेकी छिन ।
अत्यधिक मदिरा सेवन गरेकै कारण चितवन निवासी ती पुरुषको कलेजोमा समस्या आएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको थियो । ‘चिकित्सक तथा स्वास्थ्यकर्मी मात्रै संलग्नतामा दोस्रो पटक पनि सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेका छौं,’ डा. भण्डारीले भन्नुभयोे, ‘नेपालमा आफैंले गर्न सक्छौं भनेर पुष्टि भयो । कलेजो प्रत्यारोपणमा आत्मनिर्भरतातर्फको पाइला अगाडि बढाएका छौं ।’
त्रिवि शिक्षण अस्पतालले हालसम्म १२औं कलेजो प्रत्यारोपण गरेको छ । यसअघि २७ पुसमा त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले नेपालमै पहिलो पटक नेपाली चिकित्सकहरुकै संलग्नतामा पहिलो सफल कलेजो प्रत्यारोपण भएको थियो ।
नेपालमा २०७३ सालदेखि नै कलेजो प्रत्यारोपण सुरु भए पनि विदेशी विज्ञ चिकित्सकको सहयोगमा भइरहेको थियो । तर अबदेखि नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीले नै कलेजो प्रत्यारोपण गर्न समक्ष भएको डा. भण्डारीले बताउनु भयो ।
त्रिवि शिक्षण अस्पतालमा २०७६ जेठ १८ गते पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो । अंग प्रत्यारोपणमध्ये कलेजो प्रत्यारोपणलाई बढी जटिल मानिन्छ । नेपालमा वार्षिक २ सय हाराहारी कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी रहेको अनुमान छ ।













प्रतिक्रिया दिनुहोस्