जनता टाइम्स

१६ फाल्गुन २०८०, बुधबार २२:१०

एमाले नेता बशन्त नेम्बाङको स्वास्थ्यमा उल्लेख्य सुधार, पछिल्लो अवस्था देखेपछि महासचिव पोखरेल देखिए निकै खुसी


काठमाडौं, फागुन १६ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री बशन्त नेम्बाङको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहनु भएका पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य नेम्बाङको स्वास्थ्यमा उल्लेख्य सुधार भएको चिकित्सकहरुले बताएका छन ।

नेता नेम्वाङले अहिले थेरापी गर्दै हुनुहुन्छ भने खाना पनि नर्मल खानुहुन्छ । चिकित्सकका अनुसार उपचारको क्रममा उहाँको क्याथेटर निकालिएको छ । नेता नेम्वाङ अहिले आफै उभिन सक्ने अवस्थामा रहनुभएको छ । यस्तै भेटन आउनेहरुसँग हाँसेर रेस्पोन्स दिने गर्नुभएको र आवज पनि आउन सुरू गरेको अवस्था रहेको छ ।

यसैबीच एमाले महासचिव शंकर पोखरेल मेडिसिटी अस्पताल पुगेर नेता नेम्बाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँको स्वास्थ्य अवस्थामा सुधार भएको देखेर अत्यन्त खुसी लागेको महासचिव पोखरेलले बताउनु भयो ।

‘मेडिसिटी अस्पताल पुगेर माननीय बसन्त नेम्बाङको स्वास्थ्य अवस्था बुझ्दा सुधार भएको देखेर अत्यन्त खुसी लाग्यो । उहाँ अहिले थेरापी गर्दै हुनुहुन्छ । खाना नर्मल खानुहुन्छ । क्याथेटर निकालिएको रहेछ । उभिन सक्नुहुने रहेछ । हासेर रेस्पोन्स दिनुहुन्छ साथै वोली पनि फुटन सुरू गरेको अवस्था । आशा छ, उहाँको अवस्थामा छिट्टै सुधार हुनुहुनेछ, नेता नेम्वाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै भेट गरेपछि महासचिव पोखरेलले भन्नुभयो ।

सो क्रममा महासचिव पोखरेलले नेता नेम्वाङलाई स्वास्थ्य सुधारमा आत्मबलको भूमिकाबारे बिभिन्न सन्दर्भसहित जानकारीसमेत गराउनु भएको थियो ।