जनता टाइम्स

१७ फाल्गुन २०८०, बिहीबार ०९:३५

सत्ता गठबन्धनमा चर्कियो लफडा, प्रचण्डको आक्षेप सुनेपछि बिच्किए देउवा


प्रधानमन्त्री दाहाल भ्रष्टाचारमा डुङडुङ्ती गनाएकालाई कति बोक्ने ? भन्दै देउवासँग आक्रोशित बन्नुभएको छ भने दाहालको यो आरोप जस्ताको तस्कै रेकर्डमा सुनेपछि कुकुरलाई घ्यू पचेन भन्दै देउवा आक्रोशित बन्नुभएको छ । 

काठमाडौं, फागुन १७ । सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच खटपट देखिएको छ । नेपाली कांग्रेसले राष्ट्रपतिदेखि राष्ट्रिय सभा अध्यक्षसम्मका सवै पद मागेपछि गठबन्धनभित्रको खटपट छताछुल्ल भएको हो ।

बिवाद बढदै जाँदा नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले गरेको यो निर्णयबाट कांग्रेस नराम्रोसँग झस्किएको छ । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको यो कदमलाई कांग्रस सभापति शेरबहादुर देउवाले कुकुरलाई घ्यू नपचेको टिप्पणी आफू निकट नेतासँग गर्नुभएको छ ।

निर्णयपछि देउवा र दाहालले आफूनिकट नेतासँगको छलफलमा दिनुभएको अभिब्यक्तिले उहाँहरुबीचको सम्बन्धमा निकै ठूलो दरार आएको देखिन्छ । प्रधानमन्त्री दाहालले भ्रष्टाचारमा डुङडुङ्ती गनाएका देउवालाई कति बोक्ने भन्दै राष्ट्रियसभा अध्यक्ष माओवादीको बटमलाइन भएको निर्णय सुनाउनु भएको छ । दाहालको सो भनाई जस्ताको तस्तै देउवाकहाँ पुगेपछि उहाँ झनै बिच्किनुभएको छ ।

आफूमाथि भ्रष्टाचारको नाइकेको आरोप प्रधानमन्त्रीले लगाएको कुरा सुनेपछि देउवाले कुकुरलाई घ्यू पचेन भन्दै आक्रोश पोखनुभएको उहाँनिकट एक नेताले जनताटाइम्स डटकमलाई बताउनुभयो । यो कुकुरलाई घ्यू पचेन, आफूलुटने, अरुलाई देखाउने पो गर्दाेरैछ भन्दै देउवा बिच्किनुभएको ती नेताको भनाई छ ।

फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न भएको नेपाली कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले प्रस्तुत गर्नुभएको आगामी आमनिर्वाचनमा गठबन्धन नगर्नेसहितको प्रस्तावले सत्ता साझेदार दलहरूबीच आशंका जन्माएको थियो । त्यसको प्रतिक्रियास्वरूप माओवादी केन्द्रले पनि आगामी आमनिर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रले फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेपछि २०७९ फागुनमा बनेको कांग्रेस, माओवादीसहित निर्वाचनअघिको गठबन्धन फेरि संकटमा पर्ने आशंका गर्न थालिएको छ । गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता साझेदार दलबीच चुनावी तालमेल भएको थियो । सोही क्रममा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी गठबन्धन दलहरूले उम्मेदवार बनाएका थिए ।

बिवाद कतिसम्म बढेको छ भने प्रधानमन्त्री दाहाल र सभापति देउवा एकअर्काबिरुद्ध कडा रुपमा प्रस्तुत हुनुभएको छ । प्रधानमन्त्री दाहालले भ्रष्टाचारमा डुङडुङ्ती गनाएको बताएपछि कुकुरलाई घ्यू पचेन भन्दै देउवा आक्रोशित बन्नुभएको छ 

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित सिटौला सत्ता गठबन्धनकै समर्थनमा अध्यक्ष हुनेमा आश्वस्तजस्तै देखिनुभएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउन चाहनुभएको थियो । तर राष्ट्रियसभा निर्वाचन परिणामपछि माओवादी र कांग्रेसबीच बढ्दै गएको चिसोपन महासमिति र स्थायी कमिटीको बैठकसम्म आइपुग्दा थप गहिरिएको छ ।

एमालेसहितका दलहरूको समर्थनमा २०७९ पुस १० गते प्रधानमन्त्री बन्नुभएका दाहालले फागुन १० गते उक्त गठबन्धन औपचारिक रूपमा तोडेर कांग्रेस नेतृत्वमा गठबन्धन बनाउनु भएको थियो । सोही गठबन्धनको समर्थनमा दाहाल अहिले सरकारको नेतृत्वमा हुनुहुन्छ ।

राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा माओवादीले उम्मेदवार खडा गरे सत्ता गठबन्धनबाट एकभन्दा बढी उम्मेदवार हुनसक्ने देखिएको छ। कांग्रेसले यसअघि नै सिटौलालाई अध्यक्षमा अघि सार्ने तयारी गरिसकेकाले ऊ पनि पछि हट्ने अवस्था छैन । राष्ट्रियसभामा माओवादी पहिलो, कांग्रेस दोस्रो, एमाले तेस्रो र नेकपा एकीकृत समाजवादी चौथो ठुला दलका रुपमा रहेका छन । सोही कारण माओवादी नेकपा एकीकृत समाजवादी र अन्य दलको सहयोगमा राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा पार्टीकै उम्मेदवार खडा गर्ने योजना बनाएको छ ।