जनता टाइम्स

१८ फाल्गुन २०८०, शुक्रबार १२:२०

सांसदले प्रधानमन्त्री खोज्ने समिति मागेपछि सरकारप्रति कठोर बने सभामुख, मिति तोकेरै दिए कडा निर्देशन


काठमाडौं, फागुन १८ । सरकारले संसदलाई निरन्तर रुपमा अटेरी गरेपछि सभामुख देवराज घिमिरेले फेरि अर्काे रुलिङ गर्नुपरेको छ । प्रतिनिधिसभामा उठेको विषयबारे जवाफ दिन यसअघि गरिएको निर्देशनलाई आज पनि पुनः बेवास्था गरेपछि सभामुख घिमिरेले आगामी बैठकमा जवाफ दिन सरकारलाई फेरि रुलिङ गर्नुभएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलहरुले सरकार जवाफदेही नबनेको भन्दे बैठक अवरोध गरेपछि सभामुख घिमिरेले फागुन २१ गते बस्ने बैठकमा आज र यसभन्दा अघि बढेको विषयको जवाफ दिन सरकारको नाममा रुलिङ गर्नुभयो । बैठकमा एमाले सांसद सूर्य थापाले सभापतिले संसदमा उठाएका विषयमा जवाफ दिन पटकपटक रुलिङ गर्दा पनि बेवास्ता गरेको भन्दै कडा आपत्ति जनाउनु भयो ।

‘सरकार जवाफदेही भएन, सरकार हरायो, प्रधानमन्त्री हराउनुभयो । प्रधानमन्त्रीको खोजी गर्नुपर्यो,’ बैठकमा बोल्दै सांसद थापाले भन्नुभयो, ‘ प्रधानमन्त्री खोज्न संसदले एउटा उच्चस्तरीय समिति बनाउनु पर्ने हो कि ? संसद् स्थगित गर्नुपर्ने हो कि ? कति दिन चाहिने ?’ थापाले बालकुमारी घटनामा सरकारी आयोगले नै दोषी किटान गरेको मन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई कसले रोक्यो ? भन्दै प्रश्न पनि गर्नुभयो ।

बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा उठेको बिषयलाई सरकारले जवाफ नदिएकोप्रति कडा आपत्ति जनाउनु भयो । उहाँले दुग्ध किसान, मिटरव्याज पीडित र सहकारी पीडितको समस्या समाधानमा गम्भीर नबनेको भन्दै सरकारप्रति आक्रोश पनि पोख्नुभयो । यस्तै रुसी सेनामा रहेका नेपाली फिर्ता ल्याउन पहल नगरेकोप्रति पनि लिङ्देनले सरकारप्रति आक्रोश पोख्नुभयो ।

‘हामी संसद्मा आवाज उठाएर मात्रै बस्नुको अर्थ के हुन्छ ? जनता आफैं सडकमा आउनुपर्ने ? अनि सरकारको काम के हो ? दलको काम के हो ?’ लिङ्देनको प्रश्न थियो ।
उहाँले सरकारको उपस्थिती संसदमा नभएसम्म चलाउनुको अर्थ नहुने भन्दै अवरोधको बिकल्प नभएको बताउनु भयो ।