विराटनगर, फागुन १८ । मोरङको बेलबारीमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बेलबारी सडक खण्डस्थित वडा नम्बर १ र ३ को सीमानामा टिपर, बस र जिप एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनामा दुई जना घाइते छन् । प्रत्यक्षदर्सीको भनाई उधृत गर्दै प्रहरीले दिएको जानकारीअनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिएको थियो । ठक्करपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे१ज २८५६ नम्बरको जिपलाई पुनः ठक्कर दिएको थियो ।
दुर्घटनामा जिप चालक झापाको बिर्तामोड नगरपालिका–२ झापाका ३६ वर्षीय कृष्ण गजुरेल, जिपमा सवार झापा कमल गाउँपालिका–२ का करिब ५१ वर्षीय यदुकान्त भट्टराई र पहिचान नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको मृत्यू भएको हो । दुर्घटनामा घाइते भएका उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिपमै सवार झापाको कमल गाउँपालिका–२ करिब ५५ वर्षीय हरि खनाल, करिब ५० वर्षीया गायत्री भट्टराई र पहिचान नखुलेका करिव ४० वर्षीया पुरुष गम्भीर घाइते भएका छन । उनीहरुको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
घटनाको अनुसन्धानकोलागि प्रहरीले टिपर चालक मोरङको सुन्दरहरैंचा नगरपालिका–७ का २३ वर्षीय चन्द्रबहादुर विक तथा बसचालक सुन्दरहरैंचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्