लमजुङ, फागुन १९ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विकासको सपना देख्ने मान्छेले विकास ल्याइदिएर मात्र नहुने बताउनुभएको छ ।
शनिबार लमजुङको १४ औँ पासगाउँ महोत्सवको उद्घाटन गर्दै गुरुङले आएको विकास नागरिकले सदुपयोग गर्न जान्नु पर्ने बताउनुभयाे । ‘विकास भनेको हामीले मात्रै सपना देखेर भएन, नागरिक त्यो बाटोमा हिँड्नु पर्छ’, उहाँले भन्नुभयो ।
उहाँले नेपालमा ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको बताउनुभयाे । विगतमा पर्यटक आउने ठाउँ सहर मात्रै हो र उनीहरू सहरमा मात्र बस्छन् भन्ने मान्यता बिस्तारै बदलिएको गुरुङले बताउनुभयो । आफूले २०५४ सालमा लमजुङको ग्रामीण र सांस्कृतिक पर्यटनको अवधारणा ल्याएको गुरुङले स्मरण गराउनुभयो ।
अहिले होमस्टे नै नबुझ्ने मानिसहरू मन्त्री र मुख्यमन्त्री भएका बताउँदै गुरुङले उनीहरूबाट होमस्टे प्रवर्धनको काम हुन नसक्ने बताउनुभयो ।
गण्डकी प्रदेशका ३ सय ठाउँमा होमस्टे चलाउने हो भने २० हजार मानिसले रोजगारी पाउने उहाँले प्रष्ट पाउनुभयो । यसबाट सबैभन्दा बढी महिलाहरू लाभान्वित हुने गुरुङले बताउनुभयो ।
पूर्वी नेपालको खुम्बु क्षेत्र तथा चितवन र पोखरमा मात्र केन्द्रित पर्यटक बिस्तारै ग्रामीण भेगमा प्रवेश गर्न लागेका गुरुङले बताउनुभयो ।
२३ वर्ष अगाडि होमस्टे सुरु गरेको लमजुङको घले गाउँले दैनिक ५ सय बढी पर्यटक थेग्ने क्षमता बनाएको उहाँले सुनाउनुभयो । ‘यो चिजलाई हामीले समात्नु पर्यो भनेर हामीले ग्रामीण पर्यटन सुरु गरेको हो’, उहाँले भन्नुभयो ।
गुरुङले नेपालमा होमस्टेको अवधारणा नै गण्डकी प्रदेशबाट सुरु भएको बताउनुभयो । ‘गण्डकी प्रदेश होमस्टेको जननी हो, होमस्टेको अवधारणा जन्माएका प्रदेश, स्याङ्जाको सिरुबारी र लमजुङको घले गाउँ, त्यसको बाटोमा अहिले नेपालका धेरै गाउँ हिँडिरहेका छन्’, उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्