गणेश बस्नेत

२१ फाल्गुन २०८०, सोमबार ०८:२०

बालुवाटारमा रोकिदा बालकोटमा सुरु


काठमाडौं, फागुन २१। सत्ता गठबन्धनको बैठक अचानक स्थगित हुँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बसेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसेको हो ।

एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बैठक अहिले बिहान ७ बजेदेखि सुरू भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आइतबार अबेर रातिसम्म छलफल भएको थियो।

चार दलबीच संक्रमणकालीन न्याय, राष्ट्रिय सभाको अध्यक्षलगायतका विषयमा छलफल भएको बुझिएको छ।त्यही छलफलमा भएको कुराकानी जानकारी गराउन अध्यक्ष ओलीले सचिवालयको बैठक डाकेको नेताहरूले बताएका छन्।

उता बालुवाटारमा सत्ता गठबन्धनको बैठक स्थगित भएको छ। सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको थियो।उक्त बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक सम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्ने भनिएको थियो।