जनता टाइम्स

२१ फाल्गुन २०८०, सोमबार ०९:३२

सिटौलामाथि फेरि धोका : देउवा-प्रचण्ड मिलेर यसरी बनाउँदैछन बलीको बोका


काठमाडौं, फागुन २१ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले फेरि धोका पाउने निश्चित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘म त फेरि जान्छु बालकोट लुरुलुरु’ भन्दै सत्ता गठबन्धन टुटने बताएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यक्ष छाडन तयार हुनुभएकोले सिटौलामाथि फेरि धोका हुन लागेको हो ।

सिटौलासहित राष्ट्रियसभा सदस्यमा पछिल्लो पटक निर्वाचित सदस्यहरुले आज शपथसहित कार्यभार सम्हाल्दै हुनुहुन्छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि आजबाटै ६ बर्षे कार्यकाल सकाएर बिदा लिन लाग्नुभएको छ । राष्ट्रियसभा अध्यक्षको पदावधि सकिएसँगै सत्ता गठबन्धनमा सो पद निकै काउसो भएको छ । चुनावअघि सिटौलालाई राष्ट्रिय सभामा ल्याएर अध्यक्ष बनाउने प्रस्ताव गर्नुभएका प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले पार्टीभित्र नराम्रोसँग चेपुवामा पर्नुभएको छ ।

स्थायी समिति बैठकबाटै राष्ट्रिय सभा अध्यक्ष आफ्नो हुनुपर्ने निर्णय भएपछि प्रचण्ड आफ्नो निर्णयबाट पछि हटनु परेको छ । आफू प्रधानमन्त्री बन्न एमालेसहितका दलहरुसँग भएको पुस १० को सम्झौंता तोडन प्रयोग गरिएको अश्त्र नै यसपटक पनि दाहालले प्रयोग गर्नुभएको छ । सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउने भनेर उम्मेदवार बनाउन देउवालाई कन्भिन्स गर्ने दाहाल नै अहिले युटर्न लिएर देउवालाई भन्नुभएको छ, ‘पहिलो दल कांग्रेसको राष्ट्रपति, दास्रो दल एमालेको सभामुख र तेस्रो दल माओवादीको राष्ट्रिय सभा अध्यक्ष हुनु जनमतको कदर हो, यही नै शक्ति सन्तुलन हो, यो भन्दा दाँयाबाँया गर्न मिल्दैन ।’

प्रधानमन्त्री दाहालले आफ्नो यही कार्ययोजना लागू गर्नका लागि देउवामाथि मन्त्री फेर्नुपर्ने दवाव बढाउनु भएको स्रोतले जनताटाइम्स डटकमलाई बतायो । स्रोतका अनुसार प्रधानमन्त्रीले देउवाको कमजोरी पत्ता लगाएर दवाव बढाउनु भएको छ । उहाँले देउवाका बिश्वासपात्र रहेका कांग्रेस नेता तथा आफ्नो सरकारका मन्त्री हटाउनु पर्ने भन्दै मन्त्रीको पदसँग राष्ट्रियसभा अध्यक्ष साटने योजना बनाउनु भएको हो ।

उहाँले यही योजनाअनुसार देउवाका बिश्वासपात्र र कांग्रेसभित्र निकै हैसियत राख्ने दुई मन्त्री डा. प्रकाशशरण महत र मोहनबहादुर बस्नेतलाई हटाउने अडान लिनुभएको हो । प्रधानमन्त्री देउवाका यी दुई हस्तीसहित एनपी साउद, सीता गुरुङ, डिगबहादुर लिम्बु र धनराज गुरुङ तथा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालालाई मन्त्रीबाट फाल्न चाहिरनु भएको छ । मन्त्रीहरुको कामको मुल्यांकण भन्दा पनि आफ्नो आदेश नमानेको प्रधानमन्त्रीको आरोप छ ।

कांग्रेस सभापति देउवा भने यी दुई मन्त्री हटाउनु भन्दा राष्ट्रिय सभा अध्यक्ष नै छाडने निश्कर्षमा पुग्नुभएको स्रोतले जनताटाइम्स डटकमलाई बतायो । महत र बस्नेतलाई माओवादीले फाल्दा कांग्रेसभित्र आफू कमजोर बन्ने देउवाको निश्कर्ष छ । सोही कारण देउवा र प्रचण्ड मिलेर सिटौलालाई बलीको बोका बनाउन लाग्नुभएको स्रोतको भनाई छ ।